१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

विवादपछि रोकिएको एमाले धादिङको बन्द सत्र फागुन १ बाट सुरु हुने

नेपालब्रिटेन संवाददाता
२३ माघ २०८०, मंगलवार १३:४२

काठमाडौं । अधिवेशन स्थमा झडप भएपछि आइतबारबाट रोकिएको एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको बन्द सत्र फागुन १ गतेबाट सुरु हुने पक्का भएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मंगलबार दोस्रो विज्ञप्ति जारी गर्दै अवरुद्ध बन्द सत्र आगामी फागुन १ गते सुरु गर्ने जानकारी दिएका छन । अध्यक्ष देवकोटाले अधिवेशन सम्पन्न गराउन केन्द्रीय संगठन विभागे आवश्यक सबै कामहरूमा निर्देशन एवं सहजीकरण गर्ने समेत जानकारी दिएका छन ।

उनले भने, ‘२०८० माघ २१ गते देखि सुरु भएको बन्द सत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएकोमा २०८० माघ २३ गते एमाले केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित कारबाही सुरु गर्नेबारे प्राप्त पत्रका आधारमा आगामी फागुन १ गते ११ बजेबाट बन्द सत्र सुरु हुने जानकारी गराउँछु ।’

अधिवेशनका क्रममा विवाद भएर हात हालाहालको अवस्था आएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराल, अध्यक्ष कैलाश ढुंगेल, अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा र हालका अध्यक्ष भूमि त्रिपाठीसहितका नेतालाई कालकोट बोलाएर अधिवेशन नरोक्न निर्देशन दिएका थिए ।

एमाले धादिङमा ओलीनिकट दुई गुटको लडाइँले अधिवेशन प्रभावित भएको प्रतिनिधिहरूको भनाइ छ । अध्यक्षमा हालका अध्यक्ष भुमी त्रिपाठी र नेता रामकुमार अधिकारी आकांक्षी रहेका छन ।