काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) अर्जुन चन्दको सरूवा गरेका छन् ।
श्रेष्ठले शुक्रबार डिआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रदेश समन्वय विभागमा काज सरूवा गरेका हुन् । चन्दले घरासयी कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।
तर, पछि उनले राजीनामा फिर्ता लिएका थिए । गत १३ माघमा विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत छायाँलाल मोक्तान र विमानस्थलमा सुरक्षा जाँचमा खटिएका प्रहरीबीच कुटाकुट भएको थियो । घटनाको केही दिनपछि चन्दले राजीनामा दिएका थिए ।
राजीनामा पत्रमा घरायसी कारण देखाएका चन्दले बाहिर भने अध्यागमन प्रकरणमा प्रहरीमाथि अनावश्यक कारबाही भएकाले राजीनामा दिएको भन्दै मिडियाबाजी गरे ।
चन्दको सरुवा भए पनि विमानस्थल सुरक्षा कार्यालयमा नयाँ डिआईजी खटाइएको छैन ।