७ जेष्ठ २०८१, सोमबार
Follow Us

काँग्रेसको महासमिति बैठक : विभिन्न उपसमितिमा १० सदस्य मनोनीत

नेपालब्रिटेन संवाददाता
२९ माघ २०८०, सोमबार ०६:४४

काठमाडौँ । नेपाली काँग्रेसले गोदावरीमा हुने महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना सदस्यहरू मनोनीत गरेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिमा १० जना सदस्यहरूलाई मनोनीत गरिएको जानकारी दिए ।

काँग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ । बैठकमा देशभरिबाट करिब २५ सय जना नेता कार्यकर्ताहरू सहभागी हुनेछन् । महासमिति बैठकका लागि काँग्रेसले विभिन्न चरणमा समिति र उपसमितिहरू गठन गरेर तयारी गरिरहेको छ ।

आइतबारसम्म करिब करिब सबै तयारी अन्तिम चरणमा पुगेको सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । केन्द्रीय कार्यालयका अनुसार व्यवस्थापन उपसमितिमा काठमाडौँका गोविन्द पुडासैनी, इन्द्रबहादुर थापा, रोमेल श्रेष्ठ, ललितपुरका वशिष्ठकुमार अधिकारी, लक्ष्मी महर्जन, सुन्दरमान थिङ र शुभानन् रत्न धाख्वा तथा भक्तपुरका सुशील बस्नेत, राजेश खड्का र यादवप्रसाद अधिकारी सदस्य रहेका छन् ।