१२ श्रावण २०८१, शनिबार
Follow Us

मन्त्री ज्वालाले प्रतिवेदन तयारी पार्ने सहसचिवमाथि किन लगाए संगीन आरोप

नेपालब्रिटेन संवाददाता
७ फाल्गुन २०८०, सोमबार ११:४२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूमाथि व्यक्तिगत बदलाको भावना राखेर बालकुमारी घटनासम्बन्धी प्रतिवेदन तयार पार्न लगाएको आरोप लगाएका छन् ।

मन्त्री ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग श्रेष्ठले आफूमाथि बदलाको भावना राखेको भन्दै प्रतिवेदनमा उल्लेख विषयमा विश्वास नगर्न भनेका हुन् । त्यसो त ज्वालाको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन पूर्वाग्रही भएकाले त्यसको निस्कर्षमा सहमत हुन नसकिने बताइसकेका छन् ।

आइतबारको मन्त्रिपरिषद बैठकमा मन्त्री ज्वालाले प्रतिवेदन आफूले पनि बढ्न पाउनुपर्ने माग राखेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उनीमाथि झम्टिएका थिए । दुई बीच केहीबेर विवाद भएपछि अर्का उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्वालाको बचाउ गर्दै श्रेष्ठको प्रतिवाद गरे । बैठकको वातावरण असहज भएपछि प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपरेको थियो ।

बालकुमारी घटना छानबिन गर्न सरकारले सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोग गठन गरेको थियो ।

उक्त आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा बालकुमारी घटनामा गोली चल्दा दुई युवकको मृत्यु हुनुमा मन्त्री ज्वालाको मुख्य कमजोरी रहेको उल्लेख छ । गत पुस १३ मा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरिरहेका बेला ज्वाला सोही बाटो भएर आउने क्रममा युवाले उनी सवार गाडी जलाएका थिए ।