११ श्रावण २०८१, शुक्रबार
Follow Us

सकियो कांग्रेसको ‘कुम्भ मेला’

नेपालब्रिटेन संवाददाता
१० फाल्गुन २०८०, बिहीबार १३:५५

काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठक बिहीबार सम्पन्न भएको छ । नेपाली कांग्रेसको नीतिगत बहसमा केन्द्रित हुनुपर्ने महासमिति बैठक गठबन्धन बनाउने र नबनाउनेमा धेरै समय खर्चियो । त्यसैले यसलाई महासमिति बैठकभन्दा पनि कुम्भ मेलाको संज्ञा दिइएको छ । यद्यपि बैठकबाट विभिन्न प्रस्तावहरू केन्द्रीय समिति बैठकले अन्तिम रूप दिने गरी सर्वसम्मतिले पारित भएका छन् । समूहगत छलफलबाट आएका सुझावलाई समेट्दै ती प्रस्तावहरू पारित भएका हुन् ।

ललितपुरको गोदावरीमा भएको बैठकमा काँग्रेस महामन्त्री गगन थापाले विभिन्न प्रस्तावहरू पारित भएसँगै महासमिति बैठक सकिएको जानकारी गराए । महासमिति बैठक फागुन सात गतेबाट सुरु भएको थियो । काँग्रेससहितको सत्ता गठबन्धनलाई निरन्तरता दिने समेत बैठकले निर्णय गरेको छ ।

त्यस्तै बैठकले तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि नेतृत्वदायी भूमिकाप्रति सचेत रहँदै, किसान, सहकारी बचतकर्ता, लघुवित्त पीडितको पीडालाई समाधान गरी न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

४ प्रस्ताव सर्वसम्मत पारित
महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मतीले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन्।

महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरूले तालि बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतीले पारित गरेका हुन्। यससँग महामन्त्री थापाले पेस गरेको प्रतिवेदन अनुसार आगामी निर्वाचनमा कांग्रेस एक रूपमा प्रतिस्पर्धा गर्ने भएको छ।

हामी एकताबद्ध हुनुको विकल्प छैन : शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा एकताको विकल्प नभएको बताएका छन्। महासमिति बैठकको समापन सत्रमा उनले पार्टीभित्र एकताको आवश्यकता रहेको औंल्याएका हुन् । कांग्रेस रूपान्तरणको आफ्नो अविचलित यात्रा जारी रहेको बताउँदै उनले महासमिति बैठकले भविष्यको कांग्रेस कस्तो हुने र बनाउने ठोस छलफल भएको बताए। यसले पार्टीमा नयाँ ऊर्जा सञ्चार गर्ने उनको विश्वास छ।

हिन्दुराष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर
सभापति शेरबहादुर देउवालाई हिन्दुराष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर बुझाइएको छ । ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकको समापन कार्यक्रम चलिरहँदा बिहीबार कांग्रेस नेता तथा वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानका संयोजक शंकर भण्डारीले हिन्दुराष्ट्रसहितको माग गर्दै १ हजार ६१ जनाको हस्ताक्षर सभापति देउवालाई बुझाएका हुन् ।

गत सोमबारबाट चलेको महासमिति बैठकमा पहिलो दिनदेखि नै हस्ताक्षर संकलन अभियान सुरु गरेका थिए । उक्त अभियानमा सहभागी हुँदै पूर्वमहामन्त्री डा.शंशाक कोइरालासहित ४२ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । तर, बैठकको समापनका बेला हस्ताक्षर बुझाइए पनि चार दिन चलेको बैठकको एजेण्डाको रुपमा छलफल भने भएन ।