१६ बैशाख २०८१, आईतवार
Follow Us

नामिबियामाथि नेपालको रोमाञ्चक जित

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०८०, शुक्रबार १४:३०

काठमाडौं । नेपालले नामिबियामाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएपछि नेपालले ३ रनले खेल जितेको हो ।

अन्तिम ओभरमा नामिबियाका लागि जितका लागि १२ रन आवश्यक रहेकोमा करण केसीले शानदार बलिङ गर्दै एक विकेट लिएर ८ रन मात्र दिदै नेपाललाई जित दिलाएका थिए । नामिबियाका लागि जेजे स्मिथले सर्बाधिक ५० रन बनाएका थिए भने जान फ्राइलिंकले ३७, जान ग्रीनले २१, जेपी कोट्जेले २५ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।  यसअघि नामिबियाविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशलले ५५ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए ।

त्यसैगरी नामिबियाका बेन शिन्कोंगोले सर्बाधिक ३ विकेट लिएका थिए भने ज्याक ब्रासेलले २ तथा जान निकोल इटन, रुबेन ट्रम्पेलम्यान र बेर्नार्ड स्कोल्जले एक एक विकेट लिएका थिए । यो नेपालको यस सिरिजमा पहिलो जित हो । यो जितपछि नेपालको ३ खेलमा २ अंक रहेको छ ।

त्यस्तै नामिबियाको भने ३ खेलमा ४ अंक रहेको छ ।  अब सिरिजको अर्को खेलमा शनिबार नेपालले नेदरल्याण्डसको सामना गर्ने छ ।