२१ बैशाख २०८१, शुक्रबार
Follow Us

‘एक दिन माओवादी एक भएरै छाड्छ’- महासचिव ‘विप्लव’

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०८०, शनिबार १३:३८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सबै माओवादीहरू एक भएरै छाड्ने दाबी गरेका छन् ।

शनिबार ‘२४ औँ जेलब्रेक स्मृति दिवस’मा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई कुनै पनि हालतमा गलत तत्वहरुको हातमा सुम्पिन नसक्ने भन्दै रिस र आलोचना गरे पनि एक दिन माओवादी एक भएरै छाड्ने दाबी गरेका हुन् ।

उनले भने, ‘हाम्रो देशलाई कुनै पनि हालतमा गलत तत्वहरुको हातमा सुम्पिन सकिँदैन । अहिले समाजवादी मोर्चा पनि बनेको छ । हाम्रै पहलमा हाम्रो राम्रो छलफल पनि चलेको छ । माओवादी त छँदै छ । माओवादी त एक हुन्छ । एक दिन माओवादी एक भइछाड्छ, यो कसैले रिस गरे पनि आलोचना गरे पनि यो एक हुन्छ, बनाइन्छ ।’

उनले हिजो जेल तोड्नेहरुले आज साम्राज्यवादी र दलालीहरुको खेल तोड्न आवश्यक रहेको बताए । नेपालको इतिहासले माओवादहरुलाई एक ठाउँमा ल्याएको भन्दै नयाँ तरिकाले समीक्षा गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

उनले भने, ‘हिजो जेल तोडियो आज खेल तोड्नुपर्ने छ । साम्राज्यवादी र दलालीहरुको खेल तोड्नु छ । हिजो सामन्तवाद र दलालको जेल तोडियो आज यिनीहरुले भयङ्कर गर्दै छन् । नेपालको इतिहासले हामीलाई एक ठाउँमा ल्याइसकेको छ । जनताले हामीलाई हेरेका छन् । अब हामीले नयाँ तरीकाले समिक्षा गर्ने बेला आएको छ । जिम्मेवारी लिने बेला आएको छ ।’

महासचिव विप्लवले एमाले र काँग्रेसभित्र पनि माओवादी धारका नेताहरु रहेको भन्दै माओवादी एक्लै नभएको दाबी गरे ।