२० बैशाख २०८१, बिहीबार
Follow Us

एमालेमा अब २० वर्ष अरूले आस नगरे हुन्छ: केपी ओली

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०८०, शुक्रबार १३:४४

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्माओलीले अझै २० वर्ष पार्टीमा कसैलाई आस नगर्न आग्रह गरेका छन । आज शुक्रबार पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितहरुलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले भने, ‘कसैले एमालेबिनाको नेपाल भने । कसैले केपी ओलीबिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला, ‘पोहोर परार मेरो सबै कपाल झरेको थियो ।

अहिले कपाल पलाउन थालेको छ । रोपेको होइन आफै पलाउन थालेको छ । २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ ।’ उनले कांग्रेस–माओवादी गठबन्धन आफैँले तोडेको पनि बताएका छन । विदेशीको इसारामा गठबन्धन तोडिएको आरोप लागिरहेका बेला उनले देशभित्रैबाट गठबन्धन तोडेको बताएका हुन् ।

‘हामी मिसन ८४ भनेर अघि बढिरहेका छौँ । एउटा गठबन्धन तोड्दियौँ, गठबन्धन विदेशीले होइन हामीले फुटाएका हौँ । यो समीकरण बनाउन हामी सक्थ्यौँ, हामीले नै बनाएका हौँ ।’

उनले अघिल्लो गठबन्धन निकम्मा र भ्रष्ट भएको आरोप उनले लगाएका छन । उनले भने, ‘दक्षिणपन्थी, निकम्मा, भ्रष्ट गठबन्धन देशका लागि दुर्भाग्य थियो । एमालेको सरकार ढालेपछि देश ओरालो लागेको लागै थियो, त्यस सरकारलाई हटाउनै पर्ने भयो । हटायौँ’ ओलीले भने । उनले गण्डकी एमालेको किल्ला र कास्की किल्लाको राजधानी भएको दाबी गरे ।

‘एमालेका लागि गण्डकी लाल किल्ला हो । कास्की लाल किल्लाको राजधानी हो । कास्की आउँदा आफ्नै घर आएजस्तो लाग्छ,’ उनले भने । ओलीले अधिवेशनपछि पार्टीमा एकता बढ्दै गएको भन्दै अप्ठ्यारा चिर्दै अघि बढ्न नेता कार्यकर्तालाई सुझाए । कास्कीको आगामी २ वर्षको नेतृत्व वैनबहादुर अधिकारीले पाएका छन् ।