२७ बैशाख २०८१, बिहीबार
Follow Us

कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७४, बुधबार १५:५९

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता गरिएको महाअभियोगको प्रस्ताव फिर्ता लिन न्यायपालिका बचाउ अभियानले माग गरेको छ ।
न्यायपालिका बचाउ अभियानअन्तर्गत आज बसन्तपुरमा आयोजित सभामा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले स्वतन्त्र न्यायपालिकामाथि बिना प्रमाण लगाइएको महाअभियोग फिर्ता हुनुपर्ने बताउनुभयो ।
मानवअधिकारकर्मी कृष्ण पहाडीले पद्धतिको दुरुपयोग गरेर प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याइनु गलत भएको र त्यो फर्ता लिनु उपयुक्त हुने धारणा राख्नुभयो ।
मानवअधिकारकर्मी सुबोध प्याकुरेल, पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सरकारका तीन अङ्गहरु समान रुपमा अघि बढ्नुपर्ने हुँदा न्यायालयको सर्वोच्चतामा प्रहार गर्नु सही नभएको बताउनुभएको थियो ।
वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली र श्रीहरि अर्याल, डा गोविन्द केसी, डा द्वारिका ढुङ्गेल, रवीन्द्र मिश्रलगायतले जिन्दगीभर इमान्दार र निर्भिक बनेर काम गर्ने प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव आउनु गलत भएको बताउनुभयो ।
नेपाल बार एसोसिएसनका उपाध्यक्ष उषामल्ल पाठकले न्यायिक इतिहासमा निष्पक्ष, स्वतन्त्र न्यायपालिकाको सम्मान गर्दै काम गर्ने प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नु स्वतन्त्र न्यायपालिकामाथिको ठाडो हस्तक्षेप हो भन्नुभयो । प्रधानन्यायाधीश कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा आइतबार महाअभियोगको प्रस्ताव दर्ता गरिएको थियो ।