१ फाल्गुन २०८१, बिहीबार
Follow Us

महिलातर्फको विम्बल्डनको उपाधि बर्बोडा क्रिचिकोभालाई

नेपालब्रिटेन संवाददाता
३१ असार २०८१, आईतवार ०५:२९

लन्डन । बर्बोडा क्रिचिकोभाले महिलातर्फ विम्बल्डनको उपाधि जितेकी छन् । गएराति लन्डनमा सम्पन्न भएको फाइनल खेलमा जस्मिन पाउलोनीलाई हराएर क्रिचिकोभाले उपाधि जितेकी हुन् ।

पहिलो सेटमा ६-२ को जित दर्ता गरेकी क्रिचिकोभा दोस्रो सेटमा भने समान ६-२ को अन्तरले नै पराजित भएकी थिइन् । तर तेस्रो सेटमा पुनरागमन गर्दै उनले जित दर्ता गरिन् । यो उनको दोस्रो ग्राण्डस्लम टाइटल । उनले सन् २०२१ मा फ्रेन्च ओपनको समेत उपाधि जितेकी थिइन् ।

प्रतियोगिताको उपाधि जितेपछि उनले आफूले विश्वास नै गर्न नसकेको उपाधि जितेको प्रतिक्रिया दिएकी थिइन् । क्रिचिकोभाले आफ्नो जित जाना नोभोतालाई समर्पण गरेकी छन् । सन् १९९८ को विम्बल्डन च्याम्पियन नोभोताको क्यान्सरको कारण सन् २०१७ मा देहान्त भएको थियो ।

यसैगरी गएराति नै भएको पुरुषतर्फको डबल इभेन्टको स्वर्ण भने इंग्ल्यान्डका हेनरी प्याट्रन र फिनल्यान्डका हेरी हेलियोभाराले जितेका छन् । उनीहरुले ७-९, १०-८ र ११-९ ले विपक्षीलाई हराउँदै उपाधि जितेका हुन् । तिनै सेटमा ६-७ ले टाई भएपछि उनीहरुले सबै सेट अतिरिक्त समयमा जितेका थिए ।