११ बैशाख २०८२, बिहीबार
Follow Us

नागरिकता र गोर्खा आन्दोलन बारे एनआरएनए यूकेले सार्वजनिक सुनुवाइ गर्ने

नेपालब्रिटेन डट कम्
३० श्रावण २०८१, बुधबार २०:३१

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले गैरआवासीय नेपाली नागरिकता र गोर्खा आन्दोलन बारे सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ यूकेका महासचिव गोविन्द खरेलका अनुसार संघले यही अगष्ट अन्तिम साता एक सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने तयारी गरेको हो ।

अगष्ट २६ तारिख सोमबार बैंक होलिडेका दिन अल्डरसटको एम्पायर ब्यांकेटिङमा संघ र यसका अभियानहरुका सम्बन्धमा सार्वजनिक सुनुवाइ गर्न लागिएको हो ।

कार्यक्रममा प्रमुख आकर्षणका रुपमा संघको अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) का अध्यक्ष डा. बद्री केसी सहभागी हुने भएका छन् । डा. केसी १ सेप्टेमबरमा लण्डनमा आयोजना हुने नेपालब्रिटेन डट कमको १७ औं बार्षिकोत्सवमा भाग लिन बेलायत आउन लागेका हुन् ।

गैरआवासीय नेपालीहरुका मुद्धाहरुमा भइरहेका पछिल्लो प्रगति र अपडेटबारे जानकारी गराइनुका साथै कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासामा आइसीसी अध्यक्ष डा केसी, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङसहितका पदाधिकारीले जवाफ दिनेछन्।् ।

बेलायतका लागि कार्यवहाक नेपाली राजदूत रोशन खनाल प्रमुख अतिथि रहने कार्यक्रममा एनआरएनए उपाध्यक्षहरु डा. हेमराज शर्मा, रामशरण सिमखडा, रोजिना प्रधान राई लगायत संघका आइसीसीका पदाधिकारी, एनआरएनए यूकेका अगुवासहित बेलायतस्थित नेपाली संघसंस्था र समुदायका प्रतिनिधि सहभागी हुनेछन् ।

सोहि अवसरमा एनआरएनए यूकेले आइसीसी अध्यक्ष डा बद्री केसीलाई स्वागत तथा सम्मान पनि गर्ने कार्यक्रम छ। एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले संघका पछिल्ला गतिविधि र आगामी कार्ययोजनाबारे बेलायतवासी आम गैरआवासीय नेपालीलाई जानकारी गराउनु कार्यक्रमको प्रमुख उद्धेश्य रहेको बताए ।

उनले बेलायतवासी सबै नेपालीलाई कार्यक्रममा आएर एनआरएनए र यसका अभियानहरुबारे बुझ्न, नबुझेका कुरा सोध्न र आफूलाई लागेका सल्लाह, सुझाव दिन समेत आग्रह गरेका छन् । कार्यक्रम अपरान्ह ३ बजेदेखि बेलुका ९ बजेसम्मलाई तय छ ।