३१ असार २०८२, मंगलवार
Follow Us

प्रहरीका एआईजीसहित ५ अधिकृत गए सर्वोच्चमा

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०८१, बुधबार १३:३७

काठमाडौं । उमेर हदका कारण अवकाशमा जान लागेका पाँच प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन । दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेका हुन ।

सर्वोच्च पुग्नेहरुमा एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुर रहेका छन ।

उनीहरुले दिएको रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन । पद अनुसारको उमेरहदका कारण उनीहरु अनिवार्य अवकाशमा जाँदैछन् ।

जसकारण प्रहरी किताबखानाले उनीहरुलाई अवकाशको पत्र समेत पठाइसकेको छ । आफूहरुलाई पठाइएको अवकाश पत्र उमेर हदको विषय समेत ऐनमा उल्लेख गरेर कार्यान्वयन गराउनु भन्ने यसअघिको सर्वोच्चको फैसला अनुसार नभएको उनीहरुको दाबी छ । उनीहरुले प्रहरी किताबखानाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन् ।

ज्ञवाली यही २६ गते एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जाँदैछन् । बाँकी चार जना पनि ३० वर्षे सेवा अवधि बाँकी नै रहे पनि पद अनुसारको उमेर हदका कारण त्यस भन्दा अघि नै अवकाशमा जाँदैछन् ।

यसअघि एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न माग गर्दै दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको इजलासले उनीहरुलाई अवकाशमा नपठाउन अन्तरिम आदेश दिएको थियो ।

धेरै पढिएको