लण्डन। गैरआवासीय नेपाली दिवसको अवसरमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संघको केन्द्रीय कार्यालयमा एनआरएनको झण्डा उत्तोलन गरेका छन्।
शुक्रवार संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली संघ संस्था नभएर अभियान भएको बताएका छन्।
उनले गैरआवासीय नेपाली संघको स्थापना भएको २१ वर्ष पूरा भइसकेको अवस्थामा नेपालको समृद्धि र विकासका लागि अब समय कम रहेको बताउँदै, समृद्धिको सपना पूरा गर्न तर्फ लाग्न आग्रह गरे।
उनले संस्थाभित्र मतभेद हुनु स्वाभाविक रहेको बताउँदै, संस्था निरन्तर अघि बढ्ने बताएका छन्। उनले नेपालको विकास र समृद्धिका लागि तन, मन दिएर अघि बढ्न अनुरोध गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरूले विगत २१ वर्षमा आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको चर्चा गरे। उनले नेपालमा आइपर्ने प्राकृतिक प्रकोपमा विदेशमा बस्ने नेपालीहरूले सहयोग गर्दै आएको स्मरण गर्दै, हालै नेपालमा गएको बाढीपहिरो पीडितलाई संघले आर्थिक तथा राहत सामग्री वितरण गरेको बताए।
कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष रामेश्वर शाह लगायत संघका पदाधिकारी तथा विभिन्न देशबाट नेपाल आएका गैरआवासीय नेपालीहरूको उपस्थिति थियो।