सुनसरी । जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि कुटपिट भएको छ । निमोनिया भएका बिरामीलाई मृगौला प्रत्यारोपणका बिरामीले खाने औषधि सिफारिस गरेको भन्दै डा. राईमाथि कुटपिट भएको हो ।
राईले शनिबार निमोनियाका कारण अस्पताल भर्ना भएकी इनरुवाकी गंगादेवी थापालाई मृगौला प्रत्यारोपण गर्दा खाने औषधि लेखेका थिए । बिरामीका आफन्तले किनेर लगेपछि स्वास्थ्यकर्मीले औषधि गलत सिफारिस भएको थाहा पाएका थिए । त्यसपछि दुई पक्षबीच विवाद सुरु भएको थियो ।
त्यही क्रममा गंगादेवीका छोरा खेमराज थापाले डा. राईमाथि हातपात गरेका हुन् । खेमराजका दाई सुमन थापा इनरुवा–६ का वडाअध्यक्ष हुन् । उनी इनरुवा नगरपालिकाका प्रवक्तासमेत छन् । उनी काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
यसैबीच प्रहरीले चिकित्सकमाथि हातपात गर्ने थापालाई पक्राउ गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले थापाविरुद्ध कारबाहीको तयारी भएको बताए । यसैबीच नेपाली काँग्रेसले थापालाई रिहा गर्न माग गरेको छ ।
सरकार नेतृत्वकर्ता एमाले र प्मुख प्रतिपक्षी माओवादी केन्द्रले भने विज्ञपित जारी गर्दै थापामाथि कारबाहीको माग गरेका छन् ।