१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बाढी र पहिरोमा परी मुलुकभर ३७ जनाको मृत्यु, चौविसभन्दा बढी बेपत्ता

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७३, मंगलवार १६:०१

काठमाडौं । पछिल्लो चौविस घण्टामा बाढी पहिरोका कारण ३७ जनाको ज्यान गएको छ । कपिलवस्तुका विभिन्न नदीहरुमा आएको बाढीमा डुबेर २ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । सुरही खोलामा आएको बाढीले बगाउंदा बुद्धबाटिका नगरपालिका वडा नं. ४ की कल्पना कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । यसै गरी वाणगंगा नगरपालिका वडा नं. ४ ओदारीमा सडकमा खेलिरहेकी स्थानीय १२ वर्षीय रविना चौधरीको मृत्यु भएको छ । वाणगंगा नदीमा आएको बाढीले कजरहवा गाविस ९ सिंग्राहाका २१ वर्षीय रामगुलाम कलवार वेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् । यसैगरी, अविरल बर्षापछि गएको पहिरोमा परी पर्वतको माझफाँट गाविस ३ मा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।पहिरोले माझफाँट ३ मा सञ्चालित धवलागिरी कपास उद्योगमा बस्ने १२ बर्षिया अंकिता तामाङलाई पुर्दा उनको मृत्यु भएको हो ।।

प्यूठान बाढी
अविरल बर्षा पछिको बाढी पहिरो र खोलाले बगाएर प्युठानमा मृत्यु हुनेको संख्या बीस पुगेको छ। गएराती पनि परेको बर्षापछि आएको पहिरोले प्यूठान फोप्ली ६ मा दुई जनाको मृत्यु भएको छ । पहिरोले चार समेत बगाएको छ । आज विहानै आएको पहिरोले थप एकको मृत्यु भएको छ भने दुई वेपत्ता भएका छन् । मृत्यु हुनेमा नारायण के.सी., द्रोणबहादुर के.सी. र उनकीे श्रीमती रहेका छन् । वेपत्ता हुनेमा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर के.सी. र उनकी श्रीमती, , नरबहादुर बुढाथोकी र उनकी श्रीमति रहेका छन् ।