२७ मंसिर २०८१, बिहीबार
Follow Us

एनआरएनए पूर्वअध्यक्षहरूको विरुद्ध आक्रोश: “टाढै बसिदिनुहोस्, संस्था चल्छ”

नेपालब्रिटेन डट कम्
१ मंसिर २०८१, शनिबार १६:४७

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षहरूसँग सम्बन्धित सामाजिक सञ्जालमा आलोचना र आक्रोशको लहर चलिरहेको छ।

गैरआवासीय नेपाली संघका सचिव पारशमणी पोखरेलले आफ्नो फेसबुक वालमार्फत संघका पूर्वअध्यक्षहरूप्रति कडा आलोचना गर्दै आरोप लगाएका छन् कि उनीहरूले एनआरएनए संस्थालाई आफ्नो व्यापारिक गतिविधिका लागि प्रयोग गरेका छन्। पोखरेलले भनिएको छ, “अब त हद भयो, सहनुको पनि सिमा हुन्छ।”

पोखरेलले लेखेका छन्, “तपाईंहरूसँग संस्थाको लागि गलतलाई गलत भन्नको लागि अब कुनै साहस पनि छैन। तपाईंहरूले एनआरएनए लाई मात्र व्यापारका लागि प्रयोग गर्नुभयो। कृपया आफ्नो काम गर्नुहोस्। तपाईंहरू बिना पनि एनआरएनए राम्रोसँग चल्छ।”

उनको यो अभिव्यक्ति गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले एकता महाधिवेशनको नाममा पूर्वअध्यक्षहरूको भेला बोलाएपछि आएको हो। पोखरेलका अनुसार, एनआरएनए संस्थामा पूर्वअध्यक्षहरूको हस्तक्षेप गर्नाको कारण अब सहन असम्भव भएको छ।

यसै बीच, गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य तथा पत्रकार हेमन्त काफ्लेले मंसिर ४ गते बस्ने भनिएको एनआरएन उच्चस्तरीय समितिको बैठकलाई विधीसम्मत नभएको बताएका छन्। काफ्लेले सो बैठकको लागि एनआरएन भवनको दुरुपयोग हुन नदिनुपर्नेमा जोड दिए।

काफ्लेले भने, “मंसिर ४ गतेको बैठक विधीसम्मत छैन। यस्तो बैठकको लागि एनआरएन भवनको दुरुपयोग गर्न दिनु हुँदैन। संस्थानै सिध्याउने नियत बोकेका भडुवाहरू संघको सम्मानित अग्रह बन्न सक्दैनन्।”

यस घटनाले एनआरएनए भित्रको आन्तरिक द्वन्द्व र पूर्वअध्यक्षहरूको भूमिका बारेमा बहसलाई उत्तेजना दिएको छ। संस्थाका भविष्य र एकता कायम राख्नका लागि यो विवाद महत्त्वपूर्ण मोडमा पुगेको छ।