२८ मंसिर २०८१, शुक्रबार
Follow Us

विश्वसञ्जाल गठन गर्न कांग्रेस सभापति देउवा सकरात्मक

नेपालब्रिटेन डट कम्
१० मंसिर २०८१, सोमबार ००:१४

‘जनसम्पर्क समिति बेलायतको कार्यकाल ६ महिना थपियो’

लण्डन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विदेशमा रहेका नेपाली कांग्रेसका समर्थक तथा शुभचिन्तकहरूलाई समेटेर नेपाली जनसम्पर्क समितिको विश्वसञ्जाल छिट्टै गठन हुने बताएका छन्।
आइतवार, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङसँगको भेटमा देउवाले उक्त कुरा बताएका हुन्।

देउवाले नेकपा एमाले र नेपाली कांग्रेसको सरकार ८४ सालको निर्वाचनसम्म मिलेर जाने बताउँदै यसैबीचमा गैरआवासीय नेपाली नागरिकता, भूतपूर्व गोर्खा लगायतका विदेशमा बस्ने नेपालीहरूको समस्याको समाधान हुने बताए।

भेटमा सभापति गुरुङले नेपाली जनसम्पर्क समितिको विश्वसञ्जाल गठन, जनसम्पर्क समितिको कार्यकाल, आन्दोलनरत भूतपूर्व गोर्खाको माग र जनसम्पर्क समितिको विधान संशोधनलगायतका विषयमा देउवासँग छलफल गरेका थिए।
देउवाले विदेशमा बस्ने नेपालीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै तिनीहरूलाई राष्ट्रिय हितका काममा संलग्न हुन आग्रह गरे।

यस्तै, भेटमा नेपाली जनसम्पर्क समिति बेलायतको कार्यकाल सकिएपछि समितिको विधान बमोजिम ६ महिना कार्यसमितिको म्याद थप्न सहमति भएको थियो। उनले आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने तयारीका साथ अघि बढ्न गुरुङलाई निर्देशन दिएका छन्।