काठमाडौं । हिजो बुधबार बसेको एमालेको सचिवालय बैठकले एमालेका तीन जना नेतामाथि कारबाही गर्ने प्रस्तावप्रति सचिवालयका आधा दर्जन नेताहरूले असहमति जनाएको खुलासा भएको छ ।
एमाले मुख्यालय च्यासलमा बुधवार करिब ४ घण्टा बसेको बैठकमा पूर्व उपाध्यक्ष समेत रहेका नेता भीम रावल, स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथिको कारबाही गर्ने प्रस्तावप्रति ६ जना नेताहरू विपक्षमा उभिएको खुलासा भएको छ । उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टले कारबाही प्रस्तावमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए ।
ओली पक्षकै नेता भनेर चिनिने उपमहासचिव प्रदीप ज्ञवालीले समेत नेताहरूमाथिको कारबाही प्रस्तावमा पुनर्निवचार गर्न जोडबल गरेका थिए । ‘अरू पाँच जना बाहेक प्रदीप ज्ञवालीले समेत गरेको आग्रहलाई अध्यक्ष ओलीले सुन्न चाहनु भएन’, एक सचिवालय सदस्यले भने, ‘कारबाहीको विपक्षमा रहेका नेताहरूले पाण्डे र तिम्सेनालाई कारबाही नगरौँ ।
रावललाई गर्नैपर्ने भएपनि एक पटक सोधौँ र उहाँसँगको छलफलपछि मात्र गरौँ भनेर भन्नुभएको थियो तर सुनुवाई भएन ।’ एमाले उपाध्यक्ष शाक्यले पार्टीले मिसन ०८४ को अभियान चलाइरहेका बेला नेताहरूलाई कारबाही गर्दा अर्को सन्देश जानसक्ने भएकाले उपयुक्त समय नभएको बताएकी थिइन् ।
शाक्यको उक्त भनाइमा युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायतले समर्थन जनाएका थिए । ‘यो कारबाही गर्ने उपयुक्त समय होइन, अहिले नगरौँ’, बैठकमा भएको छलफललाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने,‘जनवादी केन्द्रीयता पार्टीमा हुनुपर्छ ।’नेताहरुको यस्तो धारणा आएपछि ओलीले रावलको नाम लिँदै कारबाही नगर्ने प्रस्तावको प्रतिवाद गरेका थिए ।
‘उहाँ धेरै पर पुगिसक्नुभयो । अव सम्भव छैन’,ओलीको भनाइ थियो । त्यसपछि ओलीको चाहनाविरुद्ध नेताहरू थप अघि बढ्न नचाहेको स्रोतको भनाइ छ ।