काठमाडौं । सरकारले आज (शुक्रबार) प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्दैछ ।
प्रजातन्त्र दिवस अवसरमामा घोषणा भएको पुरस्कार आज मध्यान्ह प्रधानमन्त्री के.पी. शर्मा ओलीले वितरण गर्ने भएका हुन् । शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री ओलीले पुरस्कृत गर्न लागेका हुन् ।
पुरस्कार पाउनेमा टेलिमेडिसिन क्षेत्रतर्फ डा. छिरिङ लामा , विज्ञान प्रविधि नवप्रवर्तन तर्फ डा. विराजसिंह थापा, कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ , विज्ञान प्रविधि तर्फ आभाष मास्के र हरिराम श्रेष्ठले पाउने छन् ।
यस्तै चिकित्सा क्षेत्रतर्फ डा. ओम मूर्ति अनिल, खेलकुद तर्फ सावित्रा भण्डारी, सम्पदा संरक्षण तर्फ रवीन्द्र पुरी, मानवसेवा तथा समाजसेवा तर्फ दिलशोभा श्रेष्ठ र रामजी अधिकारीलाई प्रदान गरिदै छ ।
नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट एक करोड थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना भएको थियो ।