काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता अधिवेशनपछि अभियानको नेतृत्व सम्हालेका जापानस्थित सफल व्यवसायी महेशकुमार श्रेष्ठले आगामी तीन महिनाभित्र संस्थामा साँचिकै एकताको वातावरण निर्माण हुने विश्वास व्यक्त गरेका छन्।
नेपालब्रिटेन डटकमसँग सोमवार बिहान कुरा गर्दै श्रेष्ठले भने, “संघभित्र लामो समयदेखि थुप्रिएका धेरै विवादका विषयहरू अझै टुंगिएको छैन। अदालतमा मुद्दाका चाङ छन्। यस्तो अवस्थामा व्यापक एकता सम्भव छैन। त्यसैले सबै पक्षका मुद्दा फिर्ता लिएर अघि बढ्ने प्रयास गर्नेछु।”
श्रेष्ठले विगतमा भएका कमजोरीहरूबाट पाठ सिकेर अघि बढ्न सबैलाई आग्रह गरे। उनले एनआरएनएको राष्ट्रिय अधिवेशनहरू MIS प्रणालीमार्फत हुने स्पष्ट पार्दै भने, “अब तीन महिनाभित्र विधान अधिवेशन गरेर संस्थाभित्र एकता कायम गर्न मेरो ध्यान केन्द्रित हुनेछ। मेरो मुख्य एजेन्डा नै एकता हो।”
श्रेष्ठले संघको वर्तमान कार्यसमितिका अध्यक्ष डा. बद्री केसीसँग छलफल गरेरै अघि बढ्ने बताए। “दुवै पक्षबाट वार्ता टोली बनाएर छलफल गरिनेछ,” उनले भने।
उनले गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय सबैको साझा सम्पत्ति भएको हुँदा त्यसमा विवाद गर्नु अनुपयुक्त हुने बताए। “संघको विवाद अन्त्य गर्न अध्यक्ष डा. बद्री केसीसँग केन्द्रीय कार्यालयमै भेटेर छलफल गर्नेछु,” श्रेष्ठले बताए।
श्रेष्ठ गैरआवासीय नेपाली संघको एकता गर्न सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिको पहलमा आयोजित अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन्।