१ असार २०८२, आईतवार
Follow Us

दलका भ्रातृ संगठन नै विदेशमा मानव तस्करीमा संलग्न छन् : पूर्वराजदूत मधुवन पौडेल

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०८२, आईतवार ०५:०८

लण्डन — कुवेतका लागि नेपालका पूर्वराजदूत मधुवन पौडेलले विदेशमा रहेका दलका भ्रातृ संगठनहरू नै मानव तस्करीमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन्।

कान्तिपुरसँगको एक विशेष अन्तर्वार्तामा पूर्वराजदूत पौडेलले भने, “जस–जसले मानव तस्करीको काम गर्छन्, उनीहरूको सिधा पहुँच राज्य संयन्त्रसँग छ। सबै दलका भ्रातृ संगठनहरू विदेशमा सक्रिय छन्, र ती संगठनहरूभित्रै मानव तस्करीमा संलग्न व्यक्तिहरू छन्।”

उनका अनुसार ती व्यक्ति ती संगठनहरूलाई नियन्त्रण गर्ने अवस्थामा हुन्छन् र त्यसै माध्यमबाट सिधै दलका नेताहरूसँग सम्पर्क बनाउँछन्। “हामीले कारबाही गर्नुपर्छ भनेर सिफारिस गरेका व्यक्तिहरू विदेश आएका मन्त्री र नेताहरूको वरिपरि देखिन्छन्,” उनले भने।

पूर्वराजदूत पौडेलका अनुसार कतिपय मन्त्रीहरूले दूतावासले गरेको अनुरोधविपरीत विवादास्पद व्यक्तिहरूसँग भेटघाट गर्ने गरेका छन्। “यस्ता व्यक्तिहरूले दूतावासको प्रोटोकल र अधिकारलाई चुनौती दिँदै, शक्तिको आडमा अटेरी देखाउने गरेका छन्,” पौडेलले बताए।

उनले मानव तस्करीका अभियोगमा सिफारिस गरिएका एजेन्टमाथि अनुसन्धान नहुने अवस्थालाई पनि गम्भीर समस्या भने। उद्धार गरिएका महिलाहरू नेपाल फर्केपछि सम्पर्कविहीन हुने र प्रहरीकहाँ उजुरी नदिने प्रवृत्तिले मुद्दा अघि नबढ्ने गरेको पौडेलको भनाइ छ।

“नेपाल पुगेपछि पीडित महिलाहरू सम्पर्कविहीन हुन्छन्, जसका कारण प्रमाण अभाव देखाउँदै प्रहरीले पनि मुद्दा अगाडि बढाउँदैन। यसले गर्दा एजेन्टहरू अझ हौसिएका छन्,” उनले भने।

पूर्वराजदूत पौडेलले विदेशस्थित नेपाली दूतावासहरूले मानव तस्करी विरुद्ध गम्भीर पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।