यही असार २७ गतेबाट नेपालमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले प्रदर्शनपूर्व नै अमेरिका भ्रमणमा उल्लेखनीय सफलता हात पारेको छ।
फिल्मको कोलम्बस, ह्यारिसबर्ग र पिट्सबर्ग जस्ता तीन अमेरिकी सहरमा विशेष शो आयोजना गरिएको थियो। ती शोहरूमा नेपाली दर्शकहरूको उपस्थिति अत्यन्त उत्साहजनक देखिएको छ। सोमबार साँझ पिट्सबर्गमा सम्पन्न शोमा त केही दर्शकहरू हलमा सिट नपाएर उभिएरै फिल्म हेर्न बाध्य भएका थिए।
फिल्मले नेपाली भाषा, कला, र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु पर्ने सन्देश दिएको भन्दै दर्शकहरूले प्रशंसा गरेका छन्। धेरै दर्शकहरूले आफ्नै भोगाइ फिल्ममा देखिएको भन्दै भावुक भएको अनुभव व्यक्त गरेका छन्। अमेरिकामा प्राप्त सकारात्मक प्रतिक्रियाले निर्माण टिमलाई निकै उत्साहित बनाएको छ।
निर्देशक मित्र प्रधान (नर) को निर्देशनमा तयार भएको यस फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी लगायतका कलाकारको अभिनय रहेको छ।
निर्देशक प्रधानका अनुसार, फिल्म नेपाली भाषा, परम्परा, संस्कृति र कलाको संरक्षण, संवर्द्धन तथा विकासका लागि बनाइएको हो।
ईश्वर इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस फिल्ममा मित्र प्रधान प्रस्तुतकर्ता हुन् भने ज्ञान बहादुर प्रधान (रोशन) निर्माता हुन्।