२९ आश्विन २०८२, बुधबार
Follow Us

कांग्रेसमा विग्रह निश्चित छ, दोहोरो कमिटी बन्नसक्छ : अजयबाबु शिवाकोटी

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०८२, बुधबार ०६:१४

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूको मागलाई बेवास्ता नगर्न चेतावनी दिए । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका बहुसंख्यक प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेकाले पार्टीका पदाधिकारी वा केन्द्रीय सदस्यहरूले नजरअन्दाज नगर्न चेतावनी दिएका हुन् ।

उनले नेपाली काँग्रेसमा जेन-जी आन्दोलनपछिको परिस्थितिलाई नियाल्दै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर सङ्कलन भइरहेको बताए । मङ्गलबारको केन्द्रीय समितिको बैठकपछि नै पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउने तयारी भए पनि पार्टी सभापति शेरबहादुर देउवाले समितिमा आफ्नो सम्बोधन गरेको र सभापतिको रूपमा उनको सम्बोधन यो नै अन्तिम हुने (अनुमान) भएकाले अन्य गतिविधि नगर्ने भन्दै खड्काले हस्ताक्षर स्वीकार गरेनन् ।

पार्टी सभापति देउवाले केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै आफूले खड्कालाई कार्यवाहक तोकेको जानकारी दिएका थिए । विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेको हस्ताक्षर बुधबार कार्यवाहक सभापति खड्कालाई बुझाउने तयारी रहेको शिवाकोटीले बताए । बहुसंख्यक प्रतिनिधिको मागलाई गोलमटोल बनाउने, अवरोध गर्ने बाटोमा पदाधिकारीहरू जानु नहुने र सबै सचेत रहेको उनले बताए ।

यदि नियमित वा विशेष महाधिवेशन नभएको खण्डमा पार्टी कार्यालयमा ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू जम्मा भई अधिवेशन गर्ने र नेतृत्व चयन गरी पार्टी चलाउने उनले बताए । यसले पार्टीमा विग्रह निम्त्याउन सक्ने भन्दै त्यो अवस्था आउन नदिन समयमै विशेष महाधिवेशन गर्नुपर्ने सुझाव उनले दिए ।

उनले भने, ‘साथीहरूले लिएर आएको स्पिरिटलाई नजरअन्दाज गर्न मिल्दैन । यो निर्णय गर्ने तहमा लैजानुपर्छ । यो वा त्यो, गोलमटोल पारेर झुक्याउने र त्यसै गरी लिएर जाने प्रयास गर्नुहुने छैन । विशेष महाधिवेशन भनेर साथीहरूले हस्ताक्षर गरेका छन् । त्यो हस्ताक्षर सङ्कलन गरेको कुरालाई नजरअन्दाज गर्ने, अपमान गर्ने र निस्तेज गराउने बाटोतर्फ लाग्नुहुने छैन । केन्द्रीय कमिटीले नियमित महाधिवेशन नै गर्ने भनेर निर्णय गर्‍यो भने त्यसमा पनि मान्न तयार हुनुहुन्छ ।

त्यो भएन भने हस्ताक्षर गरी दर्ता गर्न खोजिएको विशेष महाधिवेशन मङ्सिरमा गर्नुपर्छ । त्यो भएन भने त्यही विशेष महाधिवेशनलाई माग गरेर दर्ता भएको त्यही डकुमेन्टको आधारमा केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन देशभरबाट साथीहरू जम्मा हुनुभयो, ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर बुझाउँदै छौँ ।

त्यसको मतलब नगर्ने हो भने त साथीहरू जम्मा हुनुहुन्छ, त्यहीँ आफ्नो अधिवेशन गर्नुहुन्छ, अधिवेशनले त्यहीँ नेतृत्व छान्छ, उहाँहरूले नै पार्टी कार्यालय चलाउनुहुन्छ । यो अवस्था बन्ने अवस्थाबाट जोगाउनुपर्छ । सहजतापूर्वक बाटो दिनुभएन भने त्यो अप्रिय बाटोमा पनि जान सक्ने अवस्था हुन्छ । पार्टीमा त्यसले विग्रह आउँछ, त्यो अवस्था आउन नदिन सबै लाग्नुपर्छ ।’

केन्द्रीय सदस्य शिवाकोटीले संविधान मिचेर नयाँ सरकार आएको बताए । संविधानसम्मत रूपमा संसद् विघटन नभएको पनि उनले बताए । यसबारेमा पार्टीको केन्द्रीय समिति बैठकमा छलफल भई निष्कर्ष निकाल्ने उनले बताए । जेन–जी आन्दोलनले पार्टीको जीवनमा पनि नयाँ स्थिति पैदा गरेको उनले बताए । जेन जी आन्दोलनले पारेका प्रभावबारे काँग्रेसले बैठकमा छलफल गर्ने उनले बताए । कसरी पार्टी अघि बढ्ने ? पार्टीको पुनः संरचना र रूपान्तरणको कुरा कसरी अघि बढाउने भन्नेमा विशेष छलफल हुने उनले बताए ।

उनले भने, ‘यो बीचमा सरकार परिवर्तन भएको छ । सरकार सँगसँगै संसद् विघटन भएको छ । नयाँ सरकार आएको छ । संविधान मिचिएको कुरा पनि छ । संविधानसम्मत ढङ्गले सरकार नबनेको कुरा पनि छ । संविधानसम्मत यो संसद् विघटन नभएको कुरा छ । यी सबै विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुने नै छ । हाम्रो पार्टीको जीवनमा पनि जेन जी मुभमेन्टले प्रभाव पारेको छ ।

यससँग जोडिएर त्यसले दिएको सन्देशहरू कति नेपाली काँग्रेसले ग्रहण गर्ने र कसरी पार्टी अघि बढ्ने ? नेपाली काँग्रेसको बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका छन् । अब पार्टीको तर्फबाट गर्नुपर्ने कुराका सन्दर्भमा बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले माग गरी आएको विशेष महाधिवेशन छ । पार्टीको पुनः संरचना र रूपान्तरणको कुरालाई पनि यो केन्द्रीय समितिको बैठकले टुङ्गो लगाउनुपर्छ । केन्द्रीय समितिले यो वा त्यो बहानामा महाधिवेशन प्रतिनिधिहरूको भावनालाई सम्बोधन गर्नुपर्छ ।’

नेता शिवाकोटीले सरकार निर्वाचन गराउने बाटोमा नरहेको आरोप लगाए । उनले सरकारले निर्वाचनको मिति घोषणा गरेको तर राजनीतिक दलहरूसँग संवाद नै नगरेको बताए । उनले राजनीतिक दलहरू बिना निर्वाचन सम्भव नभएको जिकिर गरे । आम नागरिकमा जानुपूर्व पार्टीलाई ठीक बनाउनुपर्ने र मात्रै प्रतिस्पर्धात्मक राजनीतिमा जान सकिने उल्लेख उनले गरे ।

उनले भने, ‘सरकारले घोषणा गरेको जुन निर्वाचन छ । यो निर्वाचन घोषण गरेपछि राजनीतिक दलहरूको सहभागिता बिना निर्वाचन सम्भव छैन । तर अहिले यो निर्वाचनका सन्दर्भमा पार्टी त्यो निर्वाचनतर्फ जाने कि संसद् पुनःस्थापना गर्नेतिर जाने भन्नेमा पार्टीमा फरक फरक दृष्टिकोण छन् । त्यसकारण यो केन्द्रीय समितिको बैठकले टुङ्गोमा पुर्‍याउने छ । पब्लिकमा जानुअघि पार्टीको मेसिन ठीक हुनुपर्छ । पार्टी ठीक बनाएर बल्ल प्रतिस्पर्धात्मक राजनीतिमा जानुपर्छ भनेर पार्टीभित्रको राजनीतिक प्रतिस्पर्धामा जानेतर्फ केन्द्रित छौँ ।’

नेता शिवाकोटीले पदाधिकारी वा केन्द्रीय समितिका कसैले पनि विशेष महाधिवेशन वा नियमित महाधिवेशन रोक्ने काम नगर्न पनि चेतावनी दिए ।

धेरै पढिएको