काठमाडौं । नेपाल–भारत गृह सचिवस्तरीय बैठक भारतको राजधानी नयाँदिल्लीमा आजदेखि शुरु हुँदैछ ।
बैठकमा सहभागी हुन गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत परराष्ट्र मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहसचिवस्तरीय टोली बैठकमा सहभागी हुनेछ ।
बैठकमा सीमा सुरक्षा, मानव तस्करी, लागूऔषध कारोबार जस्ता द्विपक्षीय समान चासोका विषयमा छलफल हुने छ । सीमा वारपार अपराध, मानव तस्करी, लागूऔषध ओसारपसार तथा कारोबार, तस्करी, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेशलगायतका विषयमा छलफल हुने बताइएको छ ।
सन् २०१६ मा नयाँ दिल्लीमा सम्पन्न बैठकपछि नौ वर्षपछि बैठक हुन लागेको हो । बैठकमा दुई देशबीचको खुला सीमाबाट हुन सक्ने सुरक्षा चुनौती, चोरी तस्करीलगायत सुरक्षा संवेदनशीलताबारे गहन छलफल हुने जनाइएको छ । यसका साथै सीमा सुरक्षा थप प्रभावकारी बनाउन सूचना आदानप्रदान, प्राकृतिक प्रकोपलगायतका साझा समस्याका विषयमाथि बैठक केन्द्रित रहने बताइएको छ ।
बैठकमा सीमा अतिक्रमण, सीमास्तम्भको मर्मतसम्भार, सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक संरचनालगायतका विषयमा पनि छलफल हुने छ । सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक संरचना, सडकलगायतका कारण हुने गरेको डुबान र यसको समाधानबारे बैठकमा छलफल हुनेछ ।