१५ श्रावण २०८२, बिहीबार
Follow Us

श्रीमद्भागवत कथा सप्ताह : पण्डित सुवेदी र राजदूत घिमिरेबीच भेटघाट

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०८२, बुधबार ०६:२५

लण्डन । धर्मदर्शन फाउन्डेशन नेपाल र बेलायतस्थित भक्तजनहरूको सक्रियतामा आगामी अगस्ट १२ देखि १८ तारिखसम्म आयोजना हुने श्रीमद्भागवत कथा सप्ताहका सन्दर्भमा पण्डित कुवेर सुवेदीले बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेलाई जानकारी गराएका छन्।

साउथहलस्थित विश्व हिन्दू मन्दिरमा पहिलो पटक आयोजना हुन लागेको यो सार्वजनिक कथाको तयारी र सहभागिता सम्बन्धमा राजदूत घिमिरेसँग विशेष छलफल भएको थियो। उक्त कार्यक्रममा राजदूत घिमिरेले दीप प्रज्वलन गरी कथाको उद्घाटन गर्ने तय भएको छ।

मंगलवार लण्डनस्थित नेपाली दूतावासमा भएको भेटमा राजदूत घिमिरेले बेलायतमा हुन लागेको श्रीमद्भागवत कथाले नेपालका धर्म, संस्कृति र परम्पराको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले बेलायतलाई सबै पेशा–व्यवसायमा आबद्ध नेपालीहरूका लागि अवसर र सम्भावनाले भरिएको देशको रूपमा उल्लेख गरे।


१८ महापुराणका प्रवक्ता पण्डित सुवेदी श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर बेलायतमा कथा प्रवचनका लागि सोमवार साँझ लण्डन आइपुगेका हुन्। भेटका क्रममा सुवेदीले धर्मदर्शन फाउन्डेशन नेपालले चितवनस्थित देवघाट आश्रममा भक्तजनहरूका लागि निःशुल्क खानपान तथा वासस्थानको व्यवस्था गरेको जानकारी समेत दिए।

भेटमा पण्डित चिरञ्जीवी ढकाल, निलहरी घिमिरे लगायतको उपस्थिति थियो।

धर्मदर्शन युट्युबमार्फत विश्वभर धार्मिक जागरण, भक्ति, ज्ञान तथा आध्यात्मिक प्रवचन गर्ने सुवेदीले बेलायतमा पनि कथा, प्रवचन तथा भजन–कीर्तन गर्ने कार्यक्रम रहेको जनाएका छन्।

फाउन्डेशनले बेलायतवासी सम्पूर्ण नेपाली समुदायलाई तन, मन, र धनले सहयोग गर्न, कथा श्रवण गर्न तथा प्रसाद ग्रहणका लागि परिवारसहित उपस्थित भई धर्म लाभ लिन हार्दिक आमन्त्रण गरेको छ।

यसैबीच, आगामी १६ अगस्टका दिन श्रीकृष्ण जन्माष्टमी महोत्सव भव्य रूपमा मनाइने जानकारी पनि फाउन्डेशनले दिएको छ।

धेरै पढिएको