काठमाडौं । बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो ।
जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिकोमा ४० मुहानमा कोलिफर्म फेला परेको हो ।
बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको हो । ढोरपाटन नगरपालिकामा पाँच वटा गर्दा कुनै पनि मुहानमा कोलिफर्म नदेखिएको बताइएको छ । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने मुहान परीक्षण गर्रिको छैन ।
कोलिफर्म मिसिएको पानी पिउँदा झापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपटाइटिस बी, पिसाबको सङ्क्रमण, रगतमा सङ्क्रमणसँगै कडाकालको रोग लाग्न सक्ने छ । कोलिफर्म फेला परेको मुहानबाट आएको पानी उमालेर मात्रै प्रयोग गर्नुपर्ने डाक्टर बताउँछन् ।