काठमाडौं । लगातार तीन दिन घटेको सेयर बजार आज बढेको छ। नेप्से परिसूचक सोमबार ८.६३ अंकले वृद्धि भई २८६७.५३ विन्दुमा बन्द भएको छ। सो दिन कुल १० अर्ब ८२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
तीन दिनपछि बजार बढ्दा पनि कारोबार रकममा थोरै कमी देखिएको छ। अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडमा सीमित भएको छ। १४० कम्पनीको मूल्य बढ्दा ११० कम्पनीको मूल्य घटेको छ।
बैंकिङ क्षेत्र ०.६८ प्रतिशतले बढेको छ भने जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५६, हाइड्रोपावर ०.०९ प्रतिशतले बढेको छ।
त्यसैगरी, होटल तथा पर्यटन क्षेत्र ०.३९, विकास बैंक ०.०६, अन्य क्षेत्र ०.४२, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बीमा ०.५३ र फाइनान्स ०.८२ प्रतिशतले घटेका छन्।
सो दिन सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीमा भएको छ।