२२ आश्विन २०८२, बुधबार
Follow Us

उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु : परराष्ट्रमन्त्री

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०८२, शुक्रबार १३:०२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवम् उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएकी छन् ।

सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको जानकारी उनले दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा सो बाढीमा परेर नेपाली नागरिकहरु पनि बेपत्ता भएका भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको बताएकी छन् ।

उनले भनिन्, “हराएका नेपाली नागरिकहरुको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकी छु ।” मन्त्री डा. राणाले सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुःखको घडीमा रहेका परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।

धेरै पढिएको