काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । बानियाँलाई कांग्रेस र एमालेका ६३ सांसदले विश्वासको मत दिएका हुन् ।
नेपाली कांग्रेसका सांसद रामकृष्ण चित्रकार अमेरिकामा रहेकाले उनका पक्षमा ६४ सांसद भए पनि विश्वासको मतमा ६३ मत मात्र आएको हो ।
संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माअोवादी केन्द्रसहित, राप्रपा, नेकपा (एकीकृत समाजवादी)ले विपक्षमा मतदान गरेका थिए । हाम्रो पार्टी नेपालका दुई सांसद सदनमै अनुपस्थित भए भने नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको थियो ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिएका हुन् । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप नै लगाएका थिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिएका हुन् ।