२९ श्रावण २०८२, बिहीबार
Follow Us

बाजुरामा बाढीले बस्ती, विद्यालय र वडा कार्यालय बगायो

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०८२, बिहीबार ०५:३०

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्या खोलामा आएको आकस्मिक बाढीले स्थानीय बस्ती र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्‍याएको छ ।

बुधबार साँझ एक्कासी आएको बाढीले वडा कार्यालय, विछ्या माध्यमिक विद्यालयको भवन र खोला वरपर रहेका निजी घर र खेत बगाएको हो । लगातारको वर्षापछि खोलामा पानीको सतह असामान्य रूपमा बढ्दा बस्ती नजिकैको जमिन र घरहरु जोखिममा परेका छन् ।

बाढीले विशेष गरी खोलाकिनारका बस्ती र खेतबारीमा क्षति पुर्‍याएको छ । हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले १० वटा घर छाना बगाएको प्रारम्भिक सूचना आएको र क्षतिको थप विवरण आउन बाँकी रहेको बताए ।

खेतीयोग्य जमिन धेरै क्षति भएको उनले बताए । बिच्छ्या खोला उर्लेर आउँदा वडा न १, ३ र ५ मा क्षति गरेको हो । घटनापछि नेपाल प्रहरीको टोली सो क्षेत्रमा गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

हालसम्म कुनै मानवीय क्षतिको विवरण भने नआएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा फोन नेटवर्क नभएकाले क्षतिको पूर्ण विवरण आउन सकेको छैन । जिल्ला प्रशासन कार्यालय बाजुराले वर्षा अझै जारी भएकाले थप बाढी र पहिरोको जोखिम रहँदा स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

धेरै पढिएको