काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल मातहत निर्माण हुने चार सय केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतका दुई खण्ड निर्माणको लागि आज सम्झौता भएको छ ।
एमसीए नेपालका अनुसार न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन र रातामाटे–न्यु दमौली प्रसारण लाइन निर्माणका लागि आज ठेकेदार कम्पनीसँग निर्माण सम्झौता भएको हो । कुल ३ सय १५ किलोमिटरको प्रसारण लाइन परियोजना अन्तर्गत यसअघि १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ ।
आज ९० किलोमिटर लामो रातमाटे–न्यु दमौली प्रसारण लाइन निर्माणका लागि भारतको एनजेलिक–स्किपर संयुक्त उपक्रम (जेभी) सँग सम्झौता भएको हो । न्यु बुटवल–नेपाल र भारत सीमाको ठेक्का सम्झौतापछि बाँकी २ सय ९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि गत वर्ष मंसिर १२ गते ठेक्का आह्वान गरिएको थियो । त्यसै बमोजिम १ सय ८० किलोमिटर लामा दुई खण्डको लाइन निर्माण गर्न ठेक्का सम्झौता भएको हो । दुवै ठेक्काका अवधि ३६ महिना रहेको छ । प्रसारण लाइनका पाँच खण्डमध्ये अब दुई खण्डको निर्माण सम्झौता हुन बाँकी छ ।