काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या आएको छ ।
सभापति लामिछानेको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।
सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार गएको पनि प्रवक्ता झाले जानकारी दिए । सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षणका लागि अस्पताल पठाइएको हो ।
‘उहाँको स्वास्थ्यमा केही समस्या हो कि जस्तो लागेर जाँचका लागि उपसभापतिज्यूले पनि भन्नुभयो,’ झाले भने, ‘अहिले रगत परीक्षणका लागि पठाइएको छ ।’ रगतको रिपोर्ट भने आइनसकेको झाले जानकारी दिएका छन । लामिछानेलाई दुई दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो ।