काठमाडौं । भारतले लिपुलेकलाई आफ्नो भूमि रहेको दाबीमा अडान कायम रहेको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विज्ञप्ती जारी गर्दै लिपुलेक नाका हुँदै भारत र चीनबीचको सीमा व्यापार पुनः शुुरु गर्ने सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयको टिप्पणीलाई ध्यानमा राखेका उल्लेख छ ।
लिपुलेक नाका हुँदै भारत र चीनबीचको सीमा व्यापार सन् १९५४ मा शुुरु भएको थियो र दशकौंदेखि चलिरहेको विज्ञप्तीमा दाबी गरिएको छ । कोभिड र अन्य घटनाक्रमका कारण हालैका वर्षहरूमा यो व्यापार अवरुद्ध भएकोमा दुवै पक्ष अब यसलाई पुनः शुुरु गर्न सहमत भएको समेत विज्ञप्तीमा उल्लेख छ ।
परराष्ट्र मन्त्रालयले चीन र भारतबीच लिपु लेकबारे भएको सहमतिमा नेपालले चासो राखेपछि भारतीय विदेश मन्त्रालयले नेपालले गरेको टिप्पणी र दाबीहरू जायज नभएको तथा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको आरोप लगाएको हो ।
भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी लिपुलेक नाका आफूले दसकौँदेखि प्रयोग गरी आएको र नेपालले विस्तार गरेको नक्सा आधारहीन रहेको भनी टिप्पणी गरेको छ । विज्ञप्तिमा भारत संवाद र कूटनीतिमार्फत सहमति भएका बाँकी सीमा मुद्दाहरू समाधान गर्न नेपालसँग रचनात्मक अन्तरक्रियाको लागि खुला रहेको समेत उल्लेख गरेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा भारत र चीनले मंगलबार नेपाललाई ‘बाइपास’ गरेर लिपुलेक नाका प्रयोगबारे सहमति गरेपछि त्यसको नेपालमा विरोध हुँदै आएको छ ।
वाङको भ्रमणका क्रममा भएका सहमतिबारे भारतको विदेश मन्त्रालयले १२ बुँदे विज्ञप्ति जारी गर्दै नवौँ नम्बरमा दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथुला गरी तीनै व्यापारिक नाकामार्फत सीमा व्यापार पुन खोल्न सहमत भएको उल्लेख छ ।