१ आश्विन २०८२, बुधबार
Follow Us

‘वेल्जियम एनआरएनए’ विघटन गर्न जेनजीको माग, ४ दिने अल्टिमेटम

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०८२, मंगलवार २१:१५

लण्डन । बेल्जियमस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको आन्तरिक विवाद र विभाजनका कारण नयाँ पुस्ताका नेपाली युवाहरू आक्रोशित भएका छन्।

जेनजी र जेन वाई पुस्ताका प्रतिनिधिहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै बेल्जियममा क्रियाशील दुवै एनआरएनए समितिहरू तत्काल विघटन गर्न माग गरेका छन्। माग पूरा नभए शान्तिपूर्ण तर कठोर आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन्।

पूर्व परराष्ट्र मन्त्री आरजु देउवाको निर्देशनमा महेशकुमार श्रेष्ठ समूहले छुट्टै समिति गठन गरेपछि युवाहरू असन्तुष्ट बनेका हुन्। उनीहरूको भनाइमा नेपालकै राजनीतिक अस्थिरता र दलगत विभाजनको असर प्रवासमा पनि देखिन थालेको छ।

विज्ञप्तिमा भनिएको छ, “एनआरएनए कुनै दलको शाखा होइन, यो सम्पूर्ण नेपालीहरूको साझा संस्था हो। तर बेल्जियममा देखिएको दलगत विभाजनले यसको विश्वासनीयता र अस्तित्व कमजोर बनेको छ।”


युवापुस्ताले तीन माग अघि सारेका छन्—दुवै एनआरएनए समिति तुरुन्त विघटन गर्ने, संस्थालाई पुनः गैर–पार्टीगत र पारदर्शी बनाउने, र नयाँ संरचना समावेशी तथा एकता–केन्द्रित बनाउनुपर्ने।

माग पूरा गर्न १९ सेप्टेम्बर २०२५ शुक्रबार बेलुकी ८ बजेसम्मको अल्टिमेटम दिइएको छ। तोकिएको समयभित्र कदम नचालिए शान्तिपूर्ण तर दृढ आन्दोलन सुरु गर्ने चेतावनी युवाहरूले दिएका छन्।

यसअघि सो समूहले बेल्जियमस्थित नेपाली राजदूतलाई भेटेर एनआरएनएमा परराष्ट्र मन्त्रालयबाट भएको हस्तक्षेपप्रति आपत्ति जनाइसकेको छ।

धेरै पढिएको