अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले अस्थिर मानिएका ट्रम्पलाई सन्तुष्ट पार्न प्रयास गर्ने बताइएको छ ।
युक्रेन र मध्यपूर्वमा युद्ध जारी रहेका बेला तथा प्रमुख अर्थतन्त्र अमेरिकी करसँग जुझिरहेका सन्दर्भमा बेलायतले राजतन्त्रको भव्य प्रदर्शनमार्फत ट्रम्पलाई आफ्नो पक्षमा राख्न सक्ने आशा लिएको छ । तर, यौन अपराधी जेफ्री एपस्टेन सम्बन्धी विवाद र अभिव्यक्ति स्वतन्त्रता युद्धले प्रधानमन्त्री किर स्टार्मर र ट्रम्पबिचको बैठकमा असहज क्षण ल्याउन सक्ने आंकलन गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पलाई राजा चाल्र्स तृतीयसँग गाडीको जुलुस र विन्डसर क्यासलमा आयोजित भव्य राजकीय भोजमार्फत स्वागत गरिने छ । भ्रमणका क्रममा १० अर्ब पाउन्ड अर्थात १३ अर्ब ६० करोड डलर बराबरका सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ ।
भ्रमण अघि गुगलले दुई वर्षमा बेलायतमा पाँच अर्ब पाउन्ड लगानी गर्ने घोषणा गरेको छ भने पेपल र सिटी ग्रुपसहितका अमेरिकी वित्तीय कम्पनीले एक अर्ब २५ करोड पाउन्ड लगानी गर्ने बताएका छन् ।