काठमाडौँ । हामी नेपालका संस्थापक सुदन गुरुङले आफू हिजो राष्ट्रपति भवन शीतल निवासमा कुनै सेलिब्रेट गर्न नगएको प्रष्टीकरण दिएका छन् । देश गम्भीर संकटमा परेको बेला संविधानको रक्षा गर्न र राजनीतिक दलहरूलाई उनीहरूको गल्तीको महसुस गराउन मात्र आफू त्यहाँ उपस्थित भएको उनले बताए।
शनिबार एक भिडियो मार्फत गुरुङले आफू शीतल निवास जानुको कारणबारे उठेका प्रश्नहरूको जवाफ दिएका हुन्। उनले राजनीतिक दलहरूको ‘फुटाउ र राज गर’ को नीतिका कारण जनता विभाजित भइरहेको भन्दै यस्तो अवस्थामा सचेत रहन सबैलाई आग्रह गरेका छन् ।
‘म त्यहाँ सेलिब्रेट गर्न गएको होइन,’ गुरुङले भने, ’नेताहरू सबै आउने भनेपछि, उनीहरू शिर उचालेर नहिँडुन् भनेर म त्यहाँ गएको हुँ।’
उनले आफू कुनै पनि नेतासँग एउटै कुर्सीमा समेत नबसेको र उनीहरूले दिएको चिया-पानीसमेत नखाएको दाबी गरे। ‘मेरो भाइबहिनीको रगतले बनेको सरकारमा मलाई उनीहरूको केही खानु मन छैन, म अशुद्ध हुन्छु भनेर मैले पानीसमेत खाइनँ,’ उनले भने।
संविधान दिवसको अवसरमा शीतल निवासमा जेन जेडको नेतृत्व गरिरहेका गुरुङ सहभागी भएको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेको छ।