फिलिपिन्समा सरकारविरुद्धको आन्दोलनले उग्र रुप लिएको छ ।
फिलिपिन्सका सांसद, उच्च पदस्थ अधिकारी र व्यवसायीहरू संलग्न बाढी नियन्त्रण परियोजनाको ठूलो घुसघोरी प्रकरणविरुद्ध आइतबार राजधानी मनिलामा भेला भएका हजारौं प्रदर्शनकारीहरुले सरकारी कार्यालय अगाडी चर्को नारा लगाउनका साथै सडक अवरुद्ध पारेपछी सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रदर्शन दबाउनका लागि सरकारले सेनालाई समेत सतर्क रहन आदेश दिएको छ । आयोजकहरूले फिलिपिन्समा भएको यो नै सबैभन्दा ठुलो भ्रष्टाचार विरोधी प्रदर्शन भएको जनाएका छन् ।
यता प्रदर्शनलाई ध्यानमा राखी अमेरिका र अस्ट्रेलियाका दूतावासले आफ्ना नागरिकलाई प्रदर्शन क्षेत्रबाट टाढा रहन सचेत गराएको छ । फिलिपिन्स सरकारले भने बाढीग्रस्त बुलाकान प्रान्तमा धेरै परियोजना खराब गुणस्तर वा अस्तित्वहीन भएकोबारे अनुसन्धान भइरहेको जनाउँदै प्रदर्शन फिर्ता लिन अपील गरेको छ ।
यद्दपी प्रदर्शनकारीहरुले भने आफुहरु दिनानुदिन गरिबीको चपेटामा पर्दा सरकार र राजनैतिक दलका नेताहरु भने बिलासिता जीवनमा रमेको भन्दै प्रदर्शन कुनै पनि हालतमा नरोकिने जनाएका छन् ।