१० आश्विन २०८२, शुक्रबार
Follow Us

‘भ्रष्टाचार नगर्नु र राष्ट्रिय स्वाधीनताको झण्डा उठाउनु मेरो अपराध हो ?’

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०८२, शुक्रबार ०५:१०

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार नगर्नु नै आफ्नो अपराध भएको बताएका छन् । भक्तपुरको गुण्डुस्थित नयाँ निवासमा पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस चौतारीका नेतासँगको भेटमा ओलीले भ्रष्टाचार नगरेका कारण आफूलाई निशाना बनाइएको बताए ।

‘अहिले ममाथि प्रहारको निशाना केन्द्रित गरिएको छ । म यसो केलाउँछु, मेरो अपराध के हो त ? भ्रष्टाचार नगर्नु अपराध हो । मैले भ्रष्टाचार गरिनँ, गर्दिनँ । गरेको छैन । यही मेरो हो ओलीले भनेका छन् । यस्तै ओलीले आफूले विकास पूर्वाधारको नेतृत्व लिए पनि त्यसलाई अपराध ठानिएको उनको गुनासो थियो ।

हिंसाको वकालत गर्ने र पृथकतावादको नारा लगाउने शक्तिलाई राष्ट्रिय एकताको मूलधारमा ल्याउनु अपराध हो ? भन्दै ओलीले प्रश्न गरेका छन् ।ओलीले आफूले नेपाललाई भूपरिवेष्ठित राष्ट्रबाट भूजडित राष्ट्र बनाएको, आफ्नो सार्वभौमसत्ताको, स्वाभिमान र स्वाधीनताको झन्डा उठाउँदै देशलाई देखिने र सुनिने दिशातिर अगाडि बढाउनु अपराध हो ? भन्ने प्रश्न गरे ।

ओलीले २३ र २४ भदौको जेन जी आन्दोलनमा भएको हिंसामा जेनजी युवाहरुको संलग्नता नरहेको उल्लेख गरे । नाम उल्लेख नगरी ओलीले काठमाण्डू महानगरका मेयर बालेन्द्र साह (बालेन) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सांकेतिक रुपमा घटनाको जिम्मेवार रहेको बताए ।

‘अलि अगाडिदेखि कसकसले केके बोलिराखेका थिए, सिंहदरबार घेरिन्छ, फलाना ठाउँमा लाखौं जनता आउँछन्, यहाँ गरिन्छ, त्यहाँ गरिन्छ, उत्पात मच्चाइन्छ । म त्यता जान चाहन्छ । सरकारले खोजी गर्नुपर्छ,’ उनले भनेका छन् ।

ओली सरकारको आलोचना गर्ने क्रममा मेयर साहले सिंहदरबार जलाउने र प्रचण्डले लाखौं जनता उठेर सिंहदरबार र बालुवाटार घेर्ने चेतावन दिएका थिए । ओलीले जेनजी आन्दोलनपछि लोकतान्त्रिक व्यवस्थाको ठाउँमा के ल्याउन खोजिएको भन्दै प्रश्न पनि गरे ।

देशमा अराजकता, अशान्ति, त्रास, हिंसा र अन्त्य गरी कानुनसम्मत ढंगले अघि बढ्न सरकारलाई आग्रह गरे । कानुनको रितबिना मानिसहरुप्रति अन्यायापूर्वक प्रतिशोध, अपमान र बेइज्जत गर्ने तरिका बन्द गर्न उनले भने ।

समाजमा कसैको घरमा लगाउनुपर्छ, काटीकाटी मार्नुपर्छ जस्तो असभ्यता प्रकट भइरहेकामा उनले चिन्ता जनाए ।

धेरै पढिएको