काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्ने भएको छ । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बोलाएका हुन् । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्नेछ ।
गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेले जानकारी गराएअनुसार, बैठक फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने रणनीति तय गर्नमा केन्द्रित हुनेछ । साथै, व्यवसायी दुर्गा प्रसाईँले घोषणा गरेको आन्दोलनका क्रममा उत्पन्न हुन सक्ने शान्ति सुरक्षाका चुनौतीहरूको विश्लेषण गरी आवश्यक पूर्वतयारी र व्यवस्थापनका उपायहरूमाथि छलफल गरिनेछ ।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।