७ मंसिर २०८२, आईतवार
Follow Us

प्रचण्डबाट अलगिएका जनार्दनले तीन शक्ति मिसाएर आज पार्टी घोषणा गर्दै

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०८२, आईतवार ०३:३२

काठमाडौं । मुलुकको समसामयिक राजनीतिमा नयाँ तरङ्ग ल्याउने उद्देश्यसहित पूर्वअर्थमन्त्री जनार्दन शर्माको परिकल्पनामा स्थापित ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ले आज औपचारिक रूपमा आफ्नो दायरा विस्तार गर्दैछ । राष्ट्रिय सभागृहमा आयोजना हुने ‘बृहत एकता घोषणा’ सभा मार्फत तीन फरक राजनीतिक पृष्ठभूमि भएका शक्तिहरू एउटै झण्डामुनि गोलबन्द हुन लागेका हुन् ।

दिउँसो साढे १२ बजे आयोजना हुने यस विशेष समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विजारोपण गरेको र हाल नेतृ दुर्गा सोबले नेतृत्व सम्हालिरहेको जसपा (नयाँशक्ति) र जनार्दन शर्माको वैचारिक पहलमा सुदन किराँतीले नेतृत्व गरिरहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकीकरण हुनेछ ।

यसका साथै, वैकल्पिक राजनीतिको वकालत गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक नेता एवं विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको प्रभावशाली समूह पनि आजैदेखि औपचारिक रूपमा यसै मूलप्रवाहमा समाहित हुने भएको छ । शीर्ष नेतृत्वबीच यसअघि नै एकताको सहमति पत्रमा हस्ताक्षर भइसकेको थियो । सोही लिखित दस्तावेजलाई शनिबार काठमाडौंको त्रिपुरेश्वरमा आयोजित विशेष भेलाले सर्वसम्मत अनुमोदन गरेपछि आज सार्वजनिक घोषणासभाको आयोजना गरिएको हो ।

माओवादीबाट अलग, नयाँ ध्रुवीकरणको प्रयास
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी लगायतका वाम घटकहरूसँग मिलेर ‘नेपाली कम्युनिष्ट पार्टी’ पुनर्गठन गरेपछि असन्तुष्ट बनेका प्रभावशाली नेता जनार्दन शर्माले यो नयाँ राजनीतिक ध्रुवीकरणको अगुवाइ गरेका हुन् ।

प्रचण्डसँगको विमतिका कारण मूल पार्टीबाट अलगिएका शर्माले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठनको पहलकदमी लिएका थिए । यद्यपि, उनले आफूलाई कार्यकारी भूमिकाबाट अलग राख्दै पार्टीको नेतृत्व तत्कालीन माओवादी नेता एवं पूर्वमन्त्री सुदन किराँतीलाई सुम्पिएका छन् । शर्माले हाल आफूलाई पार्टीको साधारण सदस्यको भूमिकामा मात्र सीमित राखेर वैचारिक अभिभावकत्व प्रदान गरिरहेका छन् ।

धेरै पढिएको