काठमाडौँ । लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आजबाट सुरु हुँदैछ । सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीन वटा पत्र पढेर सुनाउने छन् ।
ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश छन् । बैठकमा सभामुखले माननीय सदस्यहरूको उपस्थिति-अनुपस्थितिको जानकारी पेस गर्ने छन् । त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहने प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले बताए ।
हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयकहरू प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ ।
लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेश गर्न सरकारले स्वीकृत दिएको हो ।