काठमाडौँ । नेपाली काँग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घण्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम जिल्ला पठाउने निर्णय गरेको छ।
महामन्त्री गगन थापा संयोजक रहेको समितिले मातहत समितिहरूमा २४ घण्टाभित्र क्रम संख्या उल्लेख गरिएका फारम जिल्ला पठाउने निर्णय गरेको हो।
समितिका संयोजकसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही ले क्रम संख्या भएका फारम पठाउने निर्णय भएको जानकारी दिए।
सुदूरपश्चिमका विभिन्न जिल्लामा क्रमसंख्या नभएका फारम पुगेपछि आलोचना भएको थियो भने यसले विवाद पनि सिर्जना गरेको थियो। त्यसपछि समितिले आज बैठक गरेर क्रम संख्या उल्लेख रहेका फारमहरू पठाउने निर्णय गरेको हो।
नेता शेखर कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले आज सभापति शेरबहादुर देउवालाई भेटेर क्रियाशील सदस्यतासम्बन्धी क्रम संख्या नरहेका फारम जिल्लाहरूमा पुगेकोमा ध्यानाकर्षण गराएका थिए।
साथै जनसम्पर्क समितिहरूमा पुस ५ गतेभित्र अनलाइनमार्फत् फारम भर्न सक्ने गरी समय दिने निर्णय भएको छ।