काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले नेकपा (एमाले)सँग पनि निर्वाचनमा सहकार्य गरेर जान सकिने संकेत गरेका छन् ।
सोमवार आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको बन्द सूचि बुझाउन निर्वाचन आयोग पुगेका उनले एमालेसँग पनि कुरा शुरु गरिएको संकेत गर्दै सहकार्य गरेर अघि बढ्ने कुरा नरोकिने बताएका हुन् ।
नेता पाण्डेले आफ्नो पार्टीले देश, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा लागि आगामी निर्वाचनमा सहकार्य गरेर जान सकिने समेत स्पष्ट पारे ।
उनले भने, ‘नेकपा एमालेसँग एकताको कुरा केही भएको भए बिस्तारै आइहाल्छ । आज म भन्न सक्दिन, भन्दिन । रोकिँदैन । अरू दलहरूसँग पनि सहकार्य गर्ने कुरा संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, कम्युनिष्ट आन्दोलनको रक्षा, देशको रक्षा गर्ने कुरामा जो जो पार्टीहरू हामीसँग सहकार्य गर्न आउँछन् । उनीहरूसँग सहकार्य हुन्छ । हामीले विगतमा समानुपातिकबाट निर्वाचित भएका, विगतमा मन्त्री भईसकेका, प्रत्यक्षबाट सांसद भइसकेकाहरूलाई समानुपातिकमा आउने नदिनेगरी निर्णय ग¥यौँ । युवा पुस्तालाई पनि ध्यान दिएका छौ । ११० जना हामीले पेश गर्ने हो । आदिवासी, जनजाति, महिला, दलित, मधेशी, थारु, खसआर्य । यी सबै क्लष्टरबाट नेपालको संविधान र निर्वाचन कानूनअनुसार जो व्यवस्था गरिएको छ । र हालसालै सरकारले ल्याएको अध्यादेशअनुसार पनि हामीले ल्याएका छौँ ।’
नेता पाण्डेले विगतमा सांसद तथा मन्त्री भएकाहरूलाई समानुपातिक सूचिमा नराख्ने पार्टीका निर्णयअनुसार बन्द सूचि निर्वाचन आयोगमा बुझाएको पनि बताए ।