३ जेष्ठ २०८३, आईतवार
Follow Us

ब्रेक्जिट राजनीतिक बहस, बेलायत पुनः युरोपेली संघ फर्किने चर्चा

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०८३, आईतवार ०३:११

बेलायतको सत्तारुढ लेबर पार्टी भित्र नेतृत्वको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा ब्रेक्जिटको मुद्दा पुनः राष्ट्रिय राजनीतिमा प्रमुख बहसको विषय बनेको छ। लण्डनमा आयोजित प्रोग्रेस सम्मेलनमा पूर्व स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले युरोपेली संघबाट बाहिरिने निर्णयलाई विनाशकारी गल्ती भएको भन्दै कडा टिप्पणी गरेका छन्।

उनले केयर स्टार्मरलाई प्रतिस्थापन गर्न नेतृत्वका लागि चुनौती दिने घोषणा समेत गरेका छन् र बेलायतको भविष्य युरोपसँगै जोडिएको बताउँदै एक दिन पुनः युरोपेली संघमा फर्किनुपर्ने धारणा व्यक्त गरेका छन्, यद्यपि त्यसका लागि जनताको नयाँ म्यान्डेट आवश्यक पर्ने उनले स्पष्ट पारेका छन्।

स्ट्रीटिङको यस्तो अभिव्यक्तिपछि केभिन होलिन्रेकले ती टिप्पणीको आलोचना गर्दै लेबर पार्टी ब्रेक्जिटमा अल्झिएको आरोप लगाएका छन् र देशको अर्थतन्त्र, जीवनयापन खर्च तथा सार्वजनिक सेवाजस्ता महत्वपूर्ण विषयमा ध्यान दिनुपर्ने बताएका छन्। यसैबीच एन्डी बर्नहामको धारणा पनि चर्चामा आएको छ।

जसले दीर्घकालमा बेलायतले युरोपेली संघमा पुनः प्रवेश गर्न सक्ने सम्भावना रहेको बताए पनि अहिलेको मेकरफिल्ड उपनिर्वाचनमा त्यसलाई मुख्य मुद्दा नबनाउने संकेत दिएका छन्।

उक्त क्षेत्रमा सन् २०१६ को जनमत संग्रहमा बहुसंख्यक मतदाता ब्रेक्जिटको पक्षमा रहेको पृष्ठभूमिमा रिफर्म यूकेले यस मुद्दालाई आफ्नो पक्षमा उपयोग गर्ने प्रयास गरिरहेको देखिन्छ।

समग्रमा लेबर पार्टीभित्रको नेतृत्व संघर्षसँगै ब्रेक्जिट पुनः राजनीतिक बहसको केन्द्रमा आएको छ र यसले आगामी उपनिर्वाचन तथा देशको भविष्यको राजनीतिक दिशामा महत्वपूर्ण प्रभाव पार्ने संकेत देखिएको छ।

धेरै पढिएको