लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गत एसिया–प्यासिफिक क्षेत्रको तेस्रो बैठक सम्पन्न भएको छ। क्षेत्रीय संयोजक दीपक कँडेलको अध्यक्षतामा आइतबार भर्चुअल माध्यमबाट बसेको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै आगामी कार्ययोजनालाई थप प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। बैठकले आगामी ११औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न तयारीलाई तीव्रता दिने लगायतका विभिन्न औपचारिक निर्णयहरू गरेको छ।
बैठकको मुख्य निर्णयअनुसार प्रत्येक राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा सदस्यहरूले बुझाउनुपर्ने लेभी आगामी जुन १२ भित्र अनिवार्य रूपमा बुझाउनुपर्नेछ। निर्धारित समयभित्र लेभी नबुझाएमा सम्बन्धित निकायलाई तत्कालका लागि मान्यता नदिने निर्णय बैठकले गरेको छ। यस्तै, आगामी ११औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनको प्रचार–प्रसार, प्रायोजन (Sponsor) संकलन तथा व्यवस्थापनका कार्यहरूलाई तीव्र रूपमा अगाडि बढाइने भएको छ। सम्मेलनलाई सफल बनाउन एनसीसी चाइना, हङकङ र मकाउबीच संयुक्त बैठक आयोजना गरी थप जिम्मेवारी बाँडफाँड तथा समन्वयलाई सुदृढ बनाउने निर्णय समेत भएको छ।
यसैगरी हालसम्म विभिन्न एनसीसीहरूले सञ्चालन गरेका गतिविधिहरूलाई एकीकृत गरी अभिलेखीकरण गरिनेछ र त्यसको प्रतिवेदन आगामी आइसीसी (ICC) बैठकमा प्रस्तुत गरिनेछ। एनसीसी जापानद्वारा आयोजित ‘नेपाल फेस्टिभल’ तथा ‘नेपाल हाउस निर्माण अभियान’लाई सफल बनाउन एसियाका सम्पूर्ण एनसीसीहरूले आपसी सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। बृहत् एकतापछि विभिन्न एनसीसीका पदाधिकारीहरूको नामावली तथा विवरणलाई व्यवस्थित रूपमा दस्तावेजीकरण गरिने सहमति पनि बैठकमा भएको छ।
एसिया–प्यासिफिक क्षेत्रले आगामी दिनमा सञ्चालन गर्नुपर्ने कार्यक्रम तथा कार्ययोजनाहरू तयार गरी आगामी आइसीसी बैठकमा प्रस्तावका रूपमा पेश गरिनेछ। यस कार्यका लागि सम्पूर्ण एनसीसी अध्यक्षहरू तथा आइसीसीमा प्रतिनिधित्व गर्ने सदस्यहरूको राय, सुझाव र सहभागितालाई प्राथमिकता दिइनेछ। बैठकले एसिया–प्यासिफिक क्षेत्रभित्रको एकता, सहकार्य तथा संस्थागत सुदृढीकरणलाई थप मजबुत बनाउँदै आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ।
उक्त महत्त्वपूर्ण बैठकमा एनआरएनए आइसीसीका अध्यक्ष डा. हेमराज शर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो। यस्तै, विशिष्ट अतिथिहरूका रूपमा आइसीसी उपाध्यक्षद्वय टीका गुरुङ र जुनु गुरुङ, महासचिव चिरञ्जीवी खड्का, उपमहासचिव पारसमणि पोखरेल, आइसीसी सदस्यहरू कृष्ण केसी र रोहित अग्रवाल एवं विभिन्न एनसीसीका अध्यक्ष र महासचिवहरूको उल्लेख्य सहभागिता रहेको थियो।