लन्डन — बेलायती प्रधानमन्त्री सर कीर स्टार्मरले पदबाट राजीनामा दिने तयारी गरेको बलिया संकेतहरू देखा परेका छन्। चौतर्फी राजनीतिक दबाब र पार्टीभित्र बढ्दो असन्तुष्टिका बीच उनले भोलि सोमबार नै आफ्नो बहिर्गमनको कार्यतालिका सार्वजनिक गर्न सक्ने सरकारी स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यसअघि प्रधानमन्त्री स्टार्मरले आफू पदबाट नभाग्ने र नेतृत्वको जुनसुकै चुनौतीको सामना गर्ने अडान लिँदै आएका भए पनि पछिल्लो ४८ घण्टामा सरकारी संयन्त्र र सत्तारुढ लेबर पार्टीभित्रको वातावरण नाटकीय रूपमा बदलिएको हो।
आइतबार बिहान बीबीसीसँग कुरा गर्दै व्यापार सचिव पिटर काइलले प्रधानमन्त्रीले देशको सर्वोत्तम हितमा हुने निर्णय गर्ने बताएका छन्। उनले स्टार्मरले हाल सामना गरिरहेका चुनौतीहरू र विद्यमान राजनीतिक यथार्थलाई गम्भीरतापूर्वक मूल्यांकन गरिरहेको जानकारी दिएपछि प्रधानमन्त्रीले पद त्याग्न लागेको चर्चाले थप तीव्रता पाएको हो। प्रधानमन्त्री स्टार्मरमाथि केही समयदेखि पार्टीभित्रैबाट दबाब बढिरहेको थियो। लेबर पार्टीका धेरै सांसदहरूको बुझाइमा समस्या पार्टीको नीतिमा नभएर नेतृत्वको व्यक्तिगत अलोकप्रियतामा छ, जसले गर्दा सिंगो पार्टी नै पछि परिरहेको छ।
विशेषगरी मेकरफिल्ड क्षेत्रमा भएको हालैको उपनिर्वाचनको परिणाम नै स्टार्मरका लागि पद छोड्नुपर्ने मुख्य कारण बनेको विश्लेषण गरिएको छ। उक्त निर्वाचनमा लेबर पार्टीकै प्रभावशाली नेता एन्डी बर्नहमले लोकप्रिय दक्षिणपन्थी दल ‘रिफर्म यूके’ का उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेका थिए। नाइजल फाराजको रिफर्म पार्टीसँग कसरी प्रतिस्पर्धा गर्ने भनेर चिन्तित बनेका लेबर सांसदहरूका लागि बर्नहमको यो जितले नयाँ विकल्प दिएको छ। बर्नहमसँग अब विपक्षीलाई आफ्नै गढमा हराउन सक्ने बलियो राजनीतिक ट्र्याक रेकर्ड भएकाले उनी प्रधानमन्त्रीको सबैभन्दा बलियो दाबेदारका रूपमा उभिएका छन्।
अहिले दर्जनौँ लेबर सांसदहरूले प्रधानमन्त्रीको राजीनामा मागिसकेका छन् भने कतिपय वरिष्ठ क्याबिनेट मन्त्रीहरूले समेत निजी रूपमा स्टार्मरलाई पद छोड्न आग्रह गरिसकेका छन्। विदेश मन्त्री इभेट कुपर, गृह मन्त्री शबाना महमूद र यातायात मन्त्री हेइडी अलेक्ज्याण्डर जस्ता शीर्ष नेताहरूले पदमा रहिरहेरै प्रधानमन्त्रीलाई बाहिरिन सुझाव दिनुले स्टार्मरको राजनीतिक पकड र पार्टीमा उनको अधिकार पूर्ण रूपमा कमजोर भएको प्रष्ट पार्छ। हाल बर्नहम बेलायतको आगामी प्रधानमन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि देखिएका छन्। यदि प्रधानमन्त्री स्टार्मरले आगामी केही दिनभित्रै राजीनामा दिएमा, अबको मुख्य प्रश्न लेबर पार्टीभित्र नयाँ नेतृत्वका लागि चुनाव हुन्छ कि शीर्ष नेताहरूबीच आन्तरिक सहमति वा सम्झौतामार्फत नयाँ प्रधानमन्त्री छानिनेछ भन्ने हो।