३० श्रावण २०८३, शनिबार
Follow Us

यसरी हुँदैछ एनआरएनए एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन, को–को छन् वक्ता?

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०८३, शनिबार ०१:४५

गैरआवासीय नेपाली संघको ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन २०२६ “आरोहण २०२६–सँगै अघि बढ्दै, नेतृत्व गर्दै” नारासहित चीनको ग्वाङ्झाउमा आयोजना हुँदैछ। सम्मेलन १४ देखि १७ अगस्ट २०२६ सम्म चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टरमा आयोजना हुने कार्यक्रम तालिकामा उल्लेख छ।

सम्मेलनको दोस्रो दिन १५ अगस्टमा नेपालका प्रमुख राजनीतिक व्यक्तित्व तथा गैरआवासीय नेपाली अभियानका अगुवाहरूको सहभागितामा उद्घाटन कार्यक्रम हुनेछ। कार्यक्रमका अध्यक्ष एसिया प्यासिफिक क्षेत्रका क्षेत्रीय संयोजक दीपक कँडेल रहनेछन् भने प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका संसदीय दलका नेता तथा प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे रहनेछन्। विशेष अतिथिहरूमा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद बसना थापा, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महार, नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक ऐरेन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुुस्बु ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झा, जगदीश खरेल, सोम शर्मा र खगेन्द्र सुनार तथा नेकपा एमालेका सांसद क्षितिज थेबे लगायत रहेका छन्।

उद्घाटन कार्यक्रममा चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनाल, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्मा, गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष डा. बद्री केसी, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, सल्लाहकार तथा पूर्वअध्यक्ष विनोद कुँवर, चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका लक्क्ष्मीप्रसाद निरौला, ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावासका भरत खनाल र परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदी लगायतको सहभागिता रहनेछ।

सम्मेलनको उद्घाटन सत्रमा नेपाल र चीनका राष्ट्रिय गान, गैरआवासीय नेपाली संघ चीनका अध्यक्ष मुकुन्द ढकालको स्वागत मन्तव्य, पानस प्रज्वलन, सांस्कृतिक प्रस्तुति तथा परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका भिडियो सन्देश प्रस्तुत हुनेछन्। त्यसपछि प्रमुख अतिथि भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनमा गैरआवासीय नेपालीका नागरिकता, मतदान अधिकार, गैरआवासीय नेपाली परिचयपत्र तथा गोर्खासम्बन्धी विषय र लगानीका अवसरबारे विस्तृत छलफल हुनेछ। उक्त सत्रमा डा. हेमराज शर्मा, डा. बद्री केसी, डा. उपेन्द्र महतो लगायतका वक्तासहित मनीष झा, बसना थापा, ऐनबहादुर महार, युवराज दुलाल, ऐरेन राई, खुुस्बु ओली, सोम शर्मा, खगेन्द्र सुनार, क्षितिज थेबे, माधव सापकोटा ‘सुबोध’, रोशन खनाल, लक्ष्मीप्रसाद निरौला र भरत खनाल लगायत सहभागी हुनेछन्।

त्यसैगरी एसिया प्यासिफिक क्षेत्रमा राष्ट्रिय समन्वय परिषद्हरूलाई थप सक्रिय बनाउने र गैरआवासीय नेपाली संघको पुनर्ब्रान्डिङ गर्ने विषयमा पनि सत्र आयोजना हुनेछ। यसमा सुदेश झा, जापानस्थित राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियास्थित राष्ट्रिय समन्वय परिषद्, मुकुन्द ढकाल, हङकङस्थित राष्ट्रिय समन्वय परिषद्, मलेसियास्थित राष्ट्रिय समन्वय परिषद्, थाइल्यान्डस्थित राष्ट्रिय समन्वय परिषद्, मकाउस्थित राष्ट्रिय समन्वय परिषद्, फिलिपिन्सस्थित राष्ट्रिय समन्वय परिषद्, कम्बोडियास्थित राष्ट्रिय समन्वय परिषद् र म्यानमारस्थित राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम छ।

सुरक्षित वैदेशिक रोजगारी तथा पुनःएकीकरणसम्बन्धी सत्रमा एकनाथ खतीवडा, ऐनबहादुर महार, जगदीश खरेल, जुनु गुरुङ, खग्राज गौतम, डा. जनक पाठक र राजेन्द्रकुमार राउत लगायतले सहभागिता जनाउनेछन्।

१६ अगस्टमा नेपालको पर्यटन प्रवर्द्धन र प्रवासी नेपालीको शक्तिलाई नेपालसँग पुनःजोड्ने विषयमा सत्र आयोजना हुनेछ। यसमा खगेन्द्र सुनार, गिरीबहादुर सुनार, भरत खनाल, श्रवण सत्याल, आरपी देवकोटा, इन्द्र पुन, कृष्ण पाण्डे, प्रदीप नेपाल र रामहरि कार्की लगायत सहभागी हुनेछन्।

महिला सशक्तीकरण, मानव बेचबिखन नियन्त्रण तथा नेपालको रूपान्तरणसम्बन्धी सत्रमा खुुस्बु ओली, शैलजा आचार्य, अमृता थापा ‘कञ्चन’, गंगा खतीवडा कुँवर, सुष्मा शर्मा वस्ती, दुर्गाकुमारी कँडेल, अनु राई र खुुस्बु अग्रवाल लगायत सहभागी हुनेछन्।

त्यस्तै दोस्रो पुस्ताको पहिचान, नेतृत्व र विश्वव्यापी सम्पर्क सुदृढ गर्ने विषयमा सत्र आयोजना हुनेछ। नवीन न्यौरे, खगराज गौतम, भीमसेन थापा, बसना थापा, क्षितिज थेबे, समिरा केसी, अनुजा प्रधान, दीपमाला ढकाल, प्रकाश धमला, एरिका गुरुङ, श्रेया सुवेदी, विशाल श्रेष्ठ, बरामी राई, गोकरण ढकाल, सुपेन्द्र घिसिङ र शंकर तिवारी लगायत सहभागी हुने कार्यक्रम तालिकामा उल्लेख छ।

१६ अगस्ट साँझ समापन समारोहमा दीपक कँडेलको अध्यक्षता तथा भीष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यमा कार्यक्रम हुनेछ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्मा, भरत खनाल लगायतको सहभागिता रहनेछ। समारोहमा ग्वाङ्झाउ घोषणा २०२६ प्रस्तुत गरिने, सांस्कृतिक प्रस्तुति हुने, प्रमुख अतिथिको सम्बोधन, आयोजक तथा साझेदारलाई सम्मान, १२औँ गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजक देश घोषणा र धन्यवाद ज्ञापन गरिने कार्यक्रम छ।

सम्मेलनको चौथो दिन १७ अगस्टमा “आरोहण २०२६ आधिकारिक प्रतिनिधि भ्रमण” अन्तर्गत ग्वाङ्डोङको छिङयुआनस्थित गुलोङसिया दृश्यावलोकन क्षेत्र भ्रमण आयोजना हुनेछ। सुदेश झाको संयोजनमा हुने भ्रमणमा ग्लास ब्रिज, ग्लास स्काइवाक, ग्रेट वाटरफल समूह, क्लिफ वाकवे लगायतका स्थल अवलोकन तथा र्‍याफ्टिङ, दृश्यावलोकन र किनमेलजस्ता वैकल्पिक गतिविधि समावेश छन्।

धेरै पढिएको