काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
यसअघि अदालतले दिएको म्याद सकिएपछि प्रहरीले थप अनुसन्धानका लागि श्रेष्ठलाई चार दिन हिरासतमा राख्न अनुमति मागेको थियो । अदालतले प्रहरीको मागअनुसार थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सर्वोच्च अदालतको आदेशअनुसार श्रेष्ठलाई सोमबार बिहान १० बजे बरामद गरिएका सामग्रीसहित सर्वोच्च अदालतमा उपस्थित गराउनुपर्ने थियो । तर प्रहरीले उनलाई पहिले जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गराएको हो ।
जिल्ला अदालतबाट म्याद लिएपछि प्रहरीले श्रेष्ठलाई बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटको सुनुवाइका लागि सर्वोच्च अदालतमा उपस्थित गराएको छ । श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
सर्वोच्चले यसअघि श्रेष्ठलाई अदालतमा उपस्थित गराउन तथा उनको घर र कार्यालयबाट बरामद गरिएका सामग्रीसमेत पेस गर्न आदेश दिएको थियो ।