फ्रान्समा विरोध प्रदर्शन जारी: लाखौं जनता सडकमा, १,००० जना पक्राउ
पेरिस । फ्रान्सभरि लाखौं मानिसहरू विरोध प्रदर्शनमा सहभागी हुँदा करिब १,००० जना पक्राउ परेका छन्। शनिबार अबेरसम्म चलेका यी प्रदर्शनहरूका क्रममा केही झडपहरू पनि भएका छन्।
दिनभरजसो शान्तिपूर्ण रूपमा चलेका प्रदर्शन पछि पेरिसलगायत विभिन्न सहरहरूमा प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा (वाटर क्यानन) प्रहार गर्यो। यसै क्रममा मार्सेईमा अवरोध खडा गर्न राखिएका सामग्रीहरूमा आगो लगाइयो भने बोर्डोमा मानिसहरूले एउटा पसलका बोर्डहरू उप्काए।
तर, गत साताको अन्त्यमा देखिएको जस्तो व्यापक दंगा र लुटपाट, जसले फ्रान्सको आधुनिक इतिहासमै सबैभन्दा खराब अराजक दृश्यहरू निम्त्याएको थियो, त्यसलाई भने अधिकारीहरूले अहिलेसम्म नियन्त्रण बाहिर जान दिएका छैनन्।
गृह मन्त्रालयका अनुसार शनिबार करिब ४ लाख १० हजार मानिस विरोध प्रदर्शनमा सहभागी थिए, जबकि ट्रेड युनियनहरूले यो संख्या करिब ८ लाख रहेको दाबी गरेका छन्।
जीवनयापनको लागत र विद्यालयहरूको खस्कँदो अवस्थाबारेको पछिल्लो विरोध प्रदर्शनलाई अराजकतामा परिणत हुनबाट रोक्न धेरै सहरहरूमा करिब ७०,००० प्रहरी अधिकारीहरू तैनाथ गरिएको थियो र विभिन्न प्रतिबन्धहरू लगाइएका थिए। यसअघि ठूलो संख्यामा अधिकारीहरू परिचालन हुँदा पनि सयौं व्यवसायहरू लुटिएका र भवनहरूमा आगजनी भएका घटनाहरू भएका थिए।
राष्ट्रपति इमानुएल म्याक्रोनले यसै साताको सुरुमा मान्यता प्राप्त ट्रेड युनियनहरूद्वारा आयोजित प्रदर्शनहरूलाई मात्र अनुमति दिइने आदेश दिएका थिए। हालैका दिनहरूमा द्रुत-ट्र्याक अदालतको सुनुवाइपछि तोडफोड, आगजनी र लुटपाटको आरोपमा सयौं मानिसलाई जेल सजाय सुनाइएको छ।
दक्षिणी बन्दरगाह मार्सेलीमा, प्रदर्शनकारीहरूले अस्थायी सडक ब्यारिकेडहरू खडा गरे र शनिबार राति ढिलो तिनमा आगो लगाए।
पेरिसमा, शहरको पोर्टे डी’इटालीबाट पोर्टे डी भिन्सेनेसतर्फको शान्तिपूर्ण मार्चको अन्त्यतिर प्रदर्शनकारी र दंगा प्रहरीबीच झडप भयो। उक्त प्रहरी कारबाहीमा सामान्यतया संगठित अपराध र आतंकवाद विरोधी मुद्दासँग सम्बन्धित विशेष इकाईसमेत परिचालन गरिएको थियो।
केही प्रदर्शनकारीले अस्थायी ब्यारिकेडहरू खडा गर्दै अधिकारीहरूमाथि प्रहार गरे भने प्रहरीले कार डिलरशिपका झ्यालहरू तोडफोड गरिरहेका नकाबधारी युवाहरूको समूहमाथि लाठीचार्ज गर्यो।
फ्रेन्च गृहमन्त्री लरेन्ट नुनेजले एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै भने, “धेरै हजार कट्टरपन्थी कार्यकर्ताहरू मार्चको पछाडि भेला भएका थिए, जसमा लगभग ५०० व्यक्तिलाई दंगाकारीको रूपमा पहिचान गरिएको थियो।”

