ताजा खबर

गुट्खा थुक्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय पुरुषको मृत्यु

भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लाको गंजबासोदामा घरको तेस्रो तलाको कौसीमा उभिएर गुट्खा थुक्ने क्रममा ११ केभीको हाईटेन्सन विद्युत् तारको सम्पर्कमा आउँदा ६५ वर्षीय प्रभु लाल गुप्ताको मृत्यु भएको छ ।

विदिशा जिल्लाको गंजबासोदामा शुक्रबार दिउँसो यो घटना घटेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार गुप्ता कौसीमा उभिएका बेला गुट्खा थुक्ने क्रममा घरनजिकैबाट गएको हाईटेन्सन तारको सम्पर्कमा आएका थिए । करेन्ट लागेपछि उनी गम्भीर रूपमा जलेका थिए ।

घटनाबारे जानकारी पाएपछि डायल ११२ को टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । गुप्ता मूल रूपमा छतरपुरका बासिन्दा थिए ।

उनी विगत १० वर्षदेखि गंजबासोदामा भाडाको घरमा बस्दै आएका थिए । मेकानिकको काम गरेर जीविकोपार्जन गर्दै आएका उनको मृत्युले स्थानीय क्षेत्रमा शोक छाएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता